पाल्पा– जिल्लाको माथागढी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पाटीले संगठन विस्तार गरेको छ । माथागढी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन विस्तारलाई तीव्रता दिँदै ८ वटै वडामा वडा समिति गठन गर्ने तथा पालिका अधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित गाउँ तदर्थ समिति गठन गरिएको छ ।

उक्त तदर्थ समितिमा संयोजकमा लेखनाथ न्यौपाने, सह–संयोजकमा दिपेन्द्र गाहा (झमन) चयन भएका छन् । सदस्यहरूमा शेरबहादुर बिक, शंकर काफ्ले, भिमबहादुर सारु, पिताम्बर तिमिल्सेना, श्रीधर घर्ति र अर्जुन सुनार रहेका छन् । हाल ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो भने बाँकी सदस्य पछि बैठकबाट मनोनयन गरिने जनाइएको छ ।
जिल्ला सभापति बिष्णु भण्डारीको अध्यक्षतामा सम्पन्न प्रारम्भिक भेलामा युवा नेता तथा माथागढी गाउँपालिका–१, चिदीपानीका वडा अध्यक्ष राजकुमार पन्थीको विशेष उपस्थिति रहेको थियो । उक्त अवसरमा युवा नेता पन्थीले निर्माण सम्बन्धी योजना तथा बजेटका विषयमा महत्वपूर्ण धारणा प्रस्तुत गर्नुभएको थियो ।
पन्थीले परिवर्तन र विकासको लागि नयाँ शक्तिमा आवद्ध हुन सबै पालिकाबासीहरुलाई आग्रह गर्नुभयो । पुराना दलको अहंकार, दम्भ र भ्रष्टाचार विरुद्धको जेन्जी मुभमेन्टपछिको नयाँ राजनीतिक समिकरणले जनताका आशा जगाएको बताउनुभयो । माथागढीको विभिन्न क्षेत्रमा टेलिफोन नेटवर्क र विद्युत, यातायातको समस्या रहेकोले त्यसको लागि आफूले केन्द्र र प्रदेश सरकारसँग आवश्यक पहल थालेको बताउनुभयो ।

यस्तै जिल्ला अध्यक्ष भण्डारीले रास्वपाको संगठन अब गाउँगाउँसम्म लैजाने योजना अनुसार माथागढीको प्रारम्भिक कमिटि बनाइएको बताउनुभयो । उहाँले स्रोत र साधनको प्रचुर सम्भावना रहेको माथागढीको विकासमा आफ्नो पार्टीले ध्यान दिने बताउनुभयो ।









