पाल्पा – जिल्लाको त्रिभुवन बहुमुखी क्याम्पसमा पाल्पामै पहिलो पटक सूचना प्रविधि सम्बन्धि विएस्सी आईटी विषयमा अध्ययन हुने भएको छ । त्रिभुवन विश्व विद्यालयले विएस्सी आईटी विषयमा अध्ययनको लागि स्वीकृति दिएको त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख टंक प्रसाद पन्तले बताउनुभयो । पन्तका अनुसार पाल्पाको शैक्षिक इतिहास र शाखलाई जोगाउन यस कार्यक्रमले सहयोग गर्ने बताउनुभयो ।
पश्चिम नेपालको शैक्षिक क्षेत्रमा अग्रणी भूमिका निभाउँदै आएको त्रिभुवन बहुमुखी क्याम्पसमा यस कार्यक्रम संचालन भएपछि विद्यार्थीहरुलाई समेत नविनतम विषयमा अध्ययन गर्न सहज हुने भएको छ । सूचना प्रविधिमा भविष्य देख्ने युवाहरूका लागि आफ्नो भविष्यको पढाईको लागि काठमाडौं, पोखरा वा अन्य सहर धाउनुपर्ने बाध्यता हटेको छ ।
पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, रूपन्देही, बागलुङ लगायतका जिल्लाका विद्यार्थीहरूका लागि पढ्न सहज हुने त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका स्ववियू सभापति मिलन घर्तीले बताउनुभयो । पश्चिम नेपालकै शैक्षिक धरोहरको रुपमा रहेको क्याम्पसमा नविनतम कार्यक्रम आउनु विद्यार्थीहरुको लागि खुसीको विषय भएको घर्तीले बताउनुभयो ।
पाल्पामा पहिलो पटक नयाँ कार्यक्रमको सुरुवात भएकोमा सामाजिक संजाल मार्फल त्रिविक्याका पूर्व विद्यार्थी नेताहरु एमालेका नगर अध्यक्ष गुराँस आत्रेय, माथागढी १ चिदीपानीका वडा अध्यक्ष राजकुमार पन्थी लगायतका नेता तथा प्राध्यापकहरुले खुसी व्यक्त गर्दै विद्यार्थीहरुलाई भर्नाको लागि आव्हान गरेका छन् ।








