कर्जा खबर, काठमाडौं ।
अब सहकारीले पनि बैंकहरूले जस्तै मोबाइल बैंकिङ सुविधा सञ्चालन गर्न पाउने भएका छन् । मोबाइल बैकिङमार्फत पारदर्शी कारोबार गर्न नेपाल राष्ट्र बैंकले यस्तो नीति ल्याएको हो । साथै, वालेटमा आधारित भुक्तानी सेवा प्रदायक कम्पनीलाई पनि सहुलियत दरको विशेष कर्जा सुविधा दिने गरी राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति जारी गरेको छ ।
डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्ने मौद्रिक नीति सार्वजनिक भएसँगै कम्तिमा डेढ दर्जन वालेटलाई प्रत्यक्ष लाभ पुग्ने भएको छ । मौद्रिक नीतिले वालेटको स्थायित्व र प्रवद्र्धनलाई सहयोग पुग्नेगरी यस्तो नीति अघि सारेको हो ।
राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरूलाई तोकेको न्यूनतम कारोबार र पुर्याउनुपर्ने ग्राहक संख्याको समयसीमा एक वर्ष थपिदिएको छ । अनुमति प्राप्त भुक्तानी सेवा प्रदायकहरूले २०७८ असार मसान्तसम्ममा कम्तिमा तीन लाख ग्राहक र मासिक औसत कारोबार संख्या कम्तीमा छ लाख रुपियाँ पुर्याउनैपर्ने व्यस्था थियो ।
अन्यथा वालेटहरूको अनुमति नै खारेज हुने गरी गत वर्ष राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको थियो । यो व्यवस्थालाई परिमार्जन गरेर राष्ट्र बैंकले ग्राहक संख्या र कारोबार सीमा बृद्धिको समय असार २०७९ सम्म थप गरिदिएको छ । यो व्यवस्थाले महामारीका कारण ग्राहक सेवा विस्तार गर्न नसकेका वालेटलाई प्रत्यक्ष लाभ पुग्ने भएको छ ।
मोरु डिजिटलका सञ्चालक आशितोस साहका अनुसार मौद्रिक नीतिले आफूहरूलाई सहज गरिदिएको छ भने विशेष कर्जा सुविधा लिन पाउने व्यस्था निकै सकारात्मक छ । यो व्यवस्था अझै प्रष्ट भएर आउँदा कतिले लाभ पाउँछन ? भन्ने थाहा हुने उनले बताए ।
डिजिटल कारोबार प्रवद्र्धन गरिरहेको भए पनि अझै मोबाइल बैंकिङलाई राष्ट्र बैंकले विलासिताको सूचीमा राखेजस्तो गरेको छ । मोबाइल बैंकिङ सेवा लिँदै निःशुल्क सेवा दिने प्रवृत्ति रहेको बताउँदै साहले वालेटले हरेक कारोबारमा गर्नुपर्ने एसएमएस कस्ट कम गर्न सहुलियत दिनुपर्ने बताए । ग्राहक संख्या कम भएका वालेटलाई पनि यसले लाभ नै पुग्ने निष्कर्ष वालेट सञ्चालकहरूको छ ।
राष्ट्र बैंकले हालसम्म २८ वटा वालेटलाई सञ्चालन अनुमति दिएको छ । यसमध्ये ग्राहक संख्या र कारोबारका हिसावले १० वटासम्मले मात्रै तीन लाख ग्राहक र छ लाख कारोबार गर्न सकेका छन् । बाँकी करिब १८ वटा वालेट कम्पनीलाई यस नीतिले लाभ हुने राष्ट्र बैंकको भुक्तानी सेवा विभागको तर्क छ । हाल ग्राहक सेवाका हिसावले अग्रणी वालेट कम्पनी पाँच– सात वटाको मात्रै बजारमा सक्रिय उपस्थिति देखिन्छ ।
सहकारीले मोबाइल बैकिङ चलाउन पाउने
राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली संचालकहरूको कारोबारको दायरा बढाएर लघुवित्त र सहकारीका ग्राहकसम्म पुर्याउने नीति लिएको पनि छ ।
नगद कारोबारको विद्यमान सीमालाई बचत तथा ऋण सहकारी संस्थाहरूमा समेत प्रभावकारी कार्यान्वयन गर्न आवश्यक समन्वय गर्ने राष्ट्र बैंकले जनाएको छ । यसले अब वाणिज्य बैंक र विकास बैंकभित्रै रहेको मोबाइल बैकिङसहितको डिजिटल भुक्तानी लघुवित्त र सहकारीसम्म पनि सहजै पुग्ने भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको आवेदनदेखि स्वीकृतिसम्मको प्रक्रियालाई विद्युतीय माध्यमबाट गर्नका लागि आवश्यक सहजीकरण गर्न डिजिटल कर्जा मार्गदर्शन (सेन्ट्रल बैंक डिजिटल करेन्सी) तर्जुमा गरी कार्यान्वयनमा ल्याउने नीतिमा उल्लेख छ ।
मौद्रिक नीतिले भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली संचालक संस्थाहरुको कारोबारको दायरा बढाई लघुवित्त वित्तीय संस्था र सहकारीका ग्राहकसमक्ष समेत विद्युतीय भुक्तानी सेवा पुर्याउन प्रोत्साहन गरिने नीति लिनु र नगद कारोबारको विद्यमान सीमालाई बचत तथा ऋण सहकारी संस्थाहरुमा समेत प्रभावकारी कार्यान्वयन गर्न आवश्यक समन्वय गरिने भन्नुलाई सकारात्मक रूपमा लिएको राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्री गुरागाईंले बताए ।
उनले भने ‘अब सहकारीले पनि मोबाइल बैंकिङ चलाउन पाउने व्यवस्थाले पारदर्शी कारोबार गर्न सहयोग पुग्ने छ भने एकैपटक लाखौं वित्तीय ग्राहकमा सेवा पुर्याउन सकिने छ । हाल २९ हजार सहरकारी छ भनिए पनि डिजिटल कारोबार गर्ने गर्ने २० हजार मात्रै रहेको अनुमान गरिएको हुँदा कम्तिमा १५ हजार सहकारीका लाखौं ग्राहकले यस्तो डिजिटल भुक्तानीसहितको सेवा लिन सक्ने हुन्छन् ।’
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।