कर्जा खबर ।
अघिल्ला वर्षजस्तै यसपालि पनि सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक (आरबीबी) सबैभन्दा सस्तो ऋण दिनसक्ने हालतमा देखिएको छ । सरकारी कोषको कारोबार गर्ने यो बैंकसँग सस्तो ब्याजको पैसा बढी भएकाले उसले सबैभन्दा कम ब्याजदरमा पनि ऋण दिनसक्ने सामथ्र्य बनाएको हो । यद्यपि, यो गत वर्ष सबै बाणिज्य बैंकले आधार दर घटाएका छन् ।
सबै मानिसलाई बैंकिङमा प्रयोग हुने यस्ता सूत्रका बारेमा जानकारी नहुन सक्छ । बैंकहरुले १०० रुपैयाँ ऋण लगानी गर्नुपर्ने अवस्थामा कति लागत व्यहोर्नुपर्छ भन्ने हिसाब निकाल्छन् । यस्तो हिसाबलाई आधारदर भनिन्छ । आधारदरमा प्रिमियम अर्थात् केही प्रतिशत नाफा जोडेर बैंकले ऋणको ब्याजदर निर्धारण गर्छन् ।
सामान्यतया आधारदरभन्दा कम ब्याजदरमा बैंकले ऋण दिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । बैंकका सञ्चालक र उच्च व्यवस्थापकहरुले आफ्ना मनपरेका मान्छेलाई आधारदर भन्दा पनि सस्तोमा ऋण दिएर बैंकलाई नै धरासायी बनाउन नपाउन् भनेर यस्तो कानूनी व्यवस्था गरिएको हो ।
अर्कातिर कमजोर र पहूँच नभएका ऋणीलाई बढी प्रिमियम तिराएर ठूला ऋणी र आफ्ना नजिकका मान्छेलाई कम प्रिमियममा ऋण दिने प्रबृत्ती बैंकहरुमा छ । प्रिमियम निर्धारण गर्ने अर्को आधार चाहीँ उक्त ऋण डुब्नसक्ने जोखिमको आँकलन पनि हो । नचिनेको मान्छेले पैसा लिँदा ऋण डुब्ने खतरा बढी हुन्छ भन्ने तर्कका आधारमा बैंकहरुले नयाँ ग्राहकसँग बढी प्रिमियम लिन्छन् ।
यसरी कम पहूँच भएका साना ऋणीको थाप्लोमा ठूलो भारी बोकाएपछि त्यसको लाभ आफ्ना नजिकका ऋणी र ठूला कर्पोरेटलाई दिने गरिन्छ । राष्ट्र बैंकले नै ब्याजदर अन्तर (स्प्रेड)बारे तयार पारेको अर्को सूत्रमा हिसाब मिलाउन पनि बैंकहरुले कमजोर ग्राहकलाई बढी प्रिमियम लिने गरेको बैंकर नै बताउँछन् ।
यही कारण गत साता राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा साना ऋणीलाई २ प्रतिशतविन्दुभन्दा ज्यादा प्रिमियम लिन नपाइने व्यवस्था गरेको छ । यस आधारमा अब आजको दिन जो कोहीले ८० लाख रुपैयाँ ऋण माग्न गयो भने कुन बैंकले कति ब्याज लिन पाउँछ भनेर आधार दरबाट हेर्न सकिन्छ ।
उदाहरणका लागि राष्ट्रिय बाणिज्य बैंकले यस्ता ऋणीसँग साढे ५ प्रतिशतदेखि ७.४१ प्रतिशतसम्म ब्याज लिन पाउँछन् । तर त्यही ग्राहक कुमारी बैंकमा गयो भने कम्तिमा ८ प्रतिशत ब्याज तिर्नुपर्छ । कुमारीले यस्ता ग्राहकसँग ९.९० प्रतिशतसम्म ब्याज लिन सक्छ ।
गत आर्थिक वर्षको अन्त्यतिर बैंकमा पैसा जम्मा भएपछि धेरै बैंकले बचत खाताको ब्याजदर १.५ देखि २ प्रतिशतको अन्तरमा राखेका थिए । मुद्दति खातामा पनि दुई महिना अघिसम्म ७ प्रतिशत हाराहारी ब्याज दिइन्थ्यो । यसले बैंकहरुको लागत कम भएको थियो । कोरोना महामारीले धेरै बैंकको खर्च कटौतिमा सहयोग पुग्यो । अस्थाइ र करार कर्मचारीहरु हटाउनेदेखि कार्यालयमा हुने विजुली, पानीसम्मको खर्च कम भयो ।
यस्ता कारणले बैंकहरुको आधारदर घट्नमा सहयोग पुगेको हो । तर अब त्यस्तो अवस्था छैन । बजारमा तरलताको अभाव देखिन थालिसकेको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिले बैंकहरुलाई ब्याजदर बढाउन दबाब परिसकेको छ । आउँदा दिनमा आधारदर बढ्ने संकेत मिलिसकेको छ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।