पोखरा भित्रिए २० हजार भेँडा, च्यांग्रा र खसीबोका

मंगलबार, असोज २२, २०८१

पोखरा — पोखराको टुँडिखेल नजिकै छ, साहित्यकार सरुभक्तको घर । बागबजारमा उनको बुवाको किराना पसल थियो । सरुभक्त ५ वर्षको हुँदा बुवाले किराना पसल छोडेर कपडा पसल चलाए । त्यतिबेला दसैंको फूलपातीको दिन टुँडिखेलमा मेला लाग्थ्यो । उनको पसलमा सबैभन्दा धेरै व्यापार त्यही दिन हुन्थ्यो ।

 

 

 

फूलपातीमा व्यापारीहरु ससाना छाप्रा बनाएर टुँडिखेलमा बस्थे । मुस्ताङबाट त्यतिबेलैदेखि व्यापारीले भेंडा, च्यांग्रा टुँडिखेलमा ल्याएर बेच्ने गरेको उनी सम्झन्छन् । ‘पहिला फूलपातीको दिन मात्रै भेंडा च्यांग्राको व्यापार हुन्थ्यो, अचेल दसैं नलाग्दै ल्याइन्छ, तिहारसम्मै बिक्री हुन्छ,’ ७३ वर्षीय उनले भने, ‘साहुले फूलपातीमा च्यांग्रा किनेर अष्टमीमा ढाल्थे । घरमा च्यांग्रा ल्याएपछि हामीलाई रमिता हुन्थ्यो । च्यांग्रा काट्नु दसैंको एउटा रमाइलो जस्तो थियो ।’ हाल टुँडिखेलमा खेल मैदान बनेपछि भने च्यांग्रा राख्न छोडिएको छ । पोखराको सिमपानीदेखि हेमजाको याम्दीसम्म भेंडा च्यांग्राको बथान भेटिन्छ ।

 

 

उनको भनाइलाई आधार मान्दा ७ दशकअघिदेखि नै पोखरामा दसैंमा च्यांग्रा खाने चलन थियो । त्यतिबेला सम्पन्न परिवारले च्यांग्रा खाने गरे पनि हाल मध्यम वर्गीय परिवारसम्म त्यो चलन आइपुगेको छ । घटस्थापनालगत्तै पोखरामा भेंडा च्यांग्राको व्यापार सुरु हुन्छ । पहिला मुस्ताङ र कास्कीका लेकबाट भेंडा च्यांग्रा बिक्रीका लागि पोखरा झारिने गरेको भए पनि कोरोना पछि भने बझाङ, बाजुरा, दार्चुला, डोल्पा, मुगुबाट समेत भेंडा च्यांग्रा भित्रिने गरेको छ । कोरोनाकालमा मुस्ताङको कोरोला नाका बन्द भएपछि तिब्बतबाट च्यांग्रा भित्रिन बन्द भएको थियो । त्यतिबेला पोखरामा च्यांग्राको भाउ बढ्यो । मुस्ताङको मात्रै भेंडा च्यांग्राले माग धान्ने नदेखेपछि पोखराका व्यापारी मुगु, बझाङ, दार्चुलासम्म पुगेर खरिद गर्थे । हाल त्यहीका स्थानीय व्यापारीले पोखरामा भेंडा च्यांग्रा ल्याउन थालेका छन् । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कास्कीका वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेका अनुसार अघिल्लो वर्षभन्दा यस वर्ष धेरै भेंडा च्यांग्रा पोखरा भित्रिएको छ ।

 

 

अघिल्लो वर्षभन्दा मूल्य पनि घटेको छ । गत वर्ष दसैंमा भेंडा, च्यांग्रा, खसी, बोका गरी ११ हजारको हाराहारीमा भित्रिएका थिए । कोरोला नाका खुलेपछि यस वर्ष उक्त संख्या २० हजार नाघेको उनले बताए । मुस्ताङ र डोल्पाबाट हिँडाएर जोमसोम हुँदै ९ हजार भेंडा च्यांग्रा पोखरा भित्रिएका छन् । ती भेंडा च्यांग्रालाई मुस्ताङको भेटेरिनरी अस्पतालले प्रमाणीकरण गरेर पोखरा पठाउँछ । भेंडा च्यांग्रा अझैं भित्रिने क्रममा छन् ।

 

 

बझाङ, बाजुरा, दार्चुला, मुगुबाट गाडीमा ल्याइएको भेंडा च्यांग्राको संख्या झण्डै ५ हजार रहेको छ । पोखराकै खसी बजारमा दसैंमा बिक्री गर्न स्थानीय जातका ५ हजार खसी बोका दाङ, सुर्खेत, बर्दिया, कैलालीबाट भित्रिएका छन् । कास्कीकै खसीबोका भने स्थानीय घर गाउँमा बिक्री हुने गरेको छ । अघिल्लो वर्ष ४५ हजारसम्म पर्ने भेंडा च्यांग्राको मूल्य घटेर यस वर्ष ३५–४० हजार रुपैयाँसम्म पुगेको छ । ‘यस वर्ष भेंडा च्यांग्राको संख्या पनि धेरै भयो । अघिल्लो वर्ष महँगो हुँदा नबिकेकोले पनि यस वर्ष व्यापारीले नै मूल्य घटाए,’ पाण्डेले भने, ‘मासुजन्य पदार्थको खपत घट्नु र मन्दीको मारले क्रयशक्ति पनि घटेकोले अहिले मूल्य घटेको हुन सक्छ ।’

 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्