चौंरीलेकमा... अनि हामी हरायौं

सोमबार, असोज २१, २०८१

रुकुम पूर्व — समाचार संकलनका लागि कहिले कहाँ, कहिले कहाँ पुग्नुपर्छ । यसैक्रममा केही साताअघि हामी निकै सुन्दर र मनोरम ठाउँ रुकुम पूर्वको चौंरीलेक पुग्यौं ।

 

 

बागलुङको सिमाना नजिकै भूमे गाउँपालिका–१ र पुथाउत्तरगंगा गाउँपालिका–११ मा अवस्थित मनोरम बुकी पाटन नै चौंरी लेक हो । यसलाई स्थानीय भाषामा ‘चुङुरी बुकी’ भनिन्छ भनेर भूमेका स्थानिय विरप्रसाद घर्ती मगरले आफ्नो फेसकुममा लेखेका छन् । तर यो ठाउँ अहिलेसम्म चौंरी लेककै नामबाट परिचित छ ।

 

 

रुकुम पश्चिमको मुसीकोटबाट बिहानपख यात्रा थालेका हामी मध्यपहाडी लोकमार्गको बाटो हुँदै बागलुङको सिमाना पातीहाल्ने पुग्यौं । हल्का चिया–नास्तापछि हामी चौंरी लेकलाई गन्तव्य बनाएर उकालो लाग्यौं । यहाँबाट हिँड्ने बेलामा दिउँसोको करिब साढे ४ बजेको थियो ।

 

करिब ३ देखि ४ घण्टा माथि उक्लिएपछि चौंरी लेक भेटिन्छ भन्ने अनुमान हाम्रो थियो । मसँगै टेकराज भाई र पातीहाल्नेकै एक स्थानीय सन्तोष बुढा । हामी तीन जनाले पाईला अघि बढायौं । चौंरीलेकबारे सुनेको र तस्बिर–भिडियोमा देखेको बाहेकपनि म र सन्तोष पहिलोपटक त्यहाँ पुगेका थियौं । टेकराज पहिला एकपल्ट त्यहाँसम्म पुगिसकेका थिए ।

 

करिब ७ बजेतिर हामी माथी डाडाँमा पुग्यौं । बाक्लो कुहिरो लाग्यो अनि झमझम झरी पर्न थाल्यो । रेनकोट निकाल्दा–निकाल्दै हामी भिज्यौं । रेनकोटमा बेरिएका अलमलियौं । पहिला एकपल्ट आईसकेका टेकराजलाई पनि कुहिरोले नराम्ररी झुक्यायो । ‘यता कि उता’ भन्दै हामी अघि बढ्यौं ।

 

 

 

 

हिँड्दै गयौं तर गन्तव्य भेटिने छाँट देखिएन । टेकराजले नै ‘यो बाटो हैन कि क्या हो दाई’ भनेपछि मनमा चिसो पस्यो । यसो घडी हेरेको ९ बज्न थालिसकेछ । अलि अघि गए बाटो भेटिएला भनेर अझै हिँड्यौं, बाटोमा गाई–गोरुहरु भेटिएपछि थप आशा जाग्यो । तर बाटो नै भेटिएन ।

 

केही उपाय नलागेपछि टेकराजले पहिला आएको बेला खिचेको फोटोलाई जुम गरेर हेर्न थाले । उज्यालो तस्बिर, अँध्यारो राती यसकारण यसबाट पार लाग्ने देखिएन । अलमल अझै बढ्यो । त्योभन्दा बढ्यो चिसो हावाको बेग अनि झरीको मात्रा । साथसाथै हामीलाई भोकले समेत सताउन थालिसकेको थियो ।

 

 

 

 

‘फर्किम कि क्या हो’ भन्ने भाव सबैको मनमा नआएको होईन । तर फर्किने मेसो पनि हामीले हराईसकेका थियौं । यसअघि यहाँ आएकालाई फोन गरेर सोध्यौं उनीहरुले पनि बाटो बताउने प्रयास त गरे तर सम्भव देखिएन ।

 

वरीपरी कसैले सुन्छ कि भनेर कराउन थाल्यौं । कसैले सुनेन । यसपछि टेकराजले यसअघि आएका बेला राखेको एकजना गोठालोको फोन नम्बर भेटाए । अनि उक्त नम्बरमा फोन लगाए । फोनमा उनले ‘म लाईट बाल्छु त्यहिँ हेरेर आउनुस् है’ भने । अनि फोन राखेर हामी लाईट कता बल्छ भनेर चौरतिर हेर्न थाल्यौं । तर सबैतिर अध्यारो मात्रै देखियो । लाईट देखिएन ।

 

गोठालोको लाईटको झिल्कोको आशा त तब निभ्यो जब फेरि हामीले उनलाई फोन गर्दा उनको फोन ‘स्विच अफ’ भन्यो । यसको केही बेरमा हाम्रो फोनको पनि नेटवर्क गयो । अब हामी पुरापुर सम्पर्कबाट बाहिर भयौं अर्थात् हाम्रा सबै उपाय लगभग सकिए ।

 

बतास र झरी केही कम भएपनि रोखिएको थिएन । न गन्तव्यको टुंगो भयो, न फर्किने मेलोमेसो नै । यसो ओत लाग्ने ओढारै भएपनि हुन्थ्यो भनेर वरीपरी त्यो पनि खोज्यौं, तर भेटिएन । हामीलाई सहयोग गर्न साथमा आएका सन्तोषले लुगलुग काम्दै दबेको आवाजमा भने, ‘यस्तो दुःख त शत्रुलाई पनि नपरोस् ।’ हामीभन्दा सानो उमेरका उनको अनुहार हेर्दा र यो भाव सुन्दा उनको निकै माया लाग्यो ।

 

हामी तिन जनाले एक–अर्कालाई मायालु नजरले नियाल्दै बाटो खोजिरह्यौं तर भेटिएन । हामी अब चौंरीलेक भन्दा पनि तत्काल ओत लागेर यो रात जसरी–तसरी कटाउन पाए ‘देखा जाएगा’ भन्ने निष्कर्षमा पुगिसकेका थियौं ।

 

टेकराजले ‘अन्तिमपल्ट प्रयास गरौं दाई, बाटो भेटिन्छ कि’ भनेर हिँड्न जोड गरे । जे पर्ला उही टर्ला भनेर हामी चौंरीतर्फ जाने बाटोको अनुमान लगाएर फेरि हिड्यौं । अलि पर पुगेपछि तल कतै लाईट बलेको जस्तो देखियो । अघिका गोठालाले बालेको लाईट पो हो की भन्ने आशा गर्दै हामीले पनि उता लाईट बाल्यौं । अनि चिच्यायौं पनि । तर उपाय केही लागेन । त्यो लाईट पनि निभ्यो र हाम्रो आशाको दीप पनि मधुरो भयो ।

 

यतिबेलासम्म मौसममा सुधार आईसकेको थियो । तर अलमल र अन्धकार उस्तै थियो । हिँड्दै जादाँ अलि पर पुगेपछी एउटा गोठजस्तो देखियो । घर नै भेटिएको जस्तो गरी हामी त्यसतर्फ हुत्तियौं । तर त्यो त ठूलो ढुंगा पो रहेछ ।

 

चरम निराशाकाबीचमा आशा धिपधिप बल्दै–निभ्दै थियो । हामी अवाक् भयौं । एक ठाउँमा सुस्तायौं र जीउमा टास्सिएको पलास्टिक (रेनकोट) निकाल्यौं । जुकाले टाकेरो निकालेको रगत पुछपाछ पार्‍यौं केही हल्का महसुस भयो अनि हामी फेरि ‘ओत लाग्ने केही भेटिन्छ की त’ भन्दै हिँड्न थाल्यौैं ।

 

रातीको साढे १० बजेको थियो । धेरै पर गएपछी फेरि गोठजस्तो केही देखियो । यसअघि नै ढुंगाले झुक्याईसकेको हुनाले हामीमा कुनै उत्साह देखिएन । तर त्यो साँच्चै गोठ नै थियो । गोठ हो भन्ने पक्का भएपछि अघिसम्म मरेको जाँगर, कम भएको सास अनि डराएको मन सबै एकसाथ फर्केर आए जस्तो भयो । एउटा युद्ध नै जितेको जस्तो भान भयो अनि भयो दरबार नै भेटेको महसुश ।

 

हामी गोठ नजिक पुग्यौं । गोठालाबिनाको गोठ सुनसान थियो । उसो त ठाउँ नै त्यस्तै थियो । ‘मान्छे बिनाको गोठ किन रहेछ दाई’ भनेर टेकराजले प्रश्न गर्दा सन्तोषले जवाफमा ‘गोठाला यहाँभन्दामाथी गएकाले यो रित्तो भएको हो’ भन्ने अनुमानित जवाफ दिए । जे होस् हामीलाई बास बस्न मिल्ने ठाउँ भेटियो ।

 

गोठभित्र पसेर झोला बिसायौं । लामो सास फेर्‍यौं । भेडाको मल र धूलोलाई थोरै पन्छाएको जस्तो गरेर हामीले अघि ओढेको पलास्टिक बिछ्यायौै अनि सुत्ने ठाउँ बनायौैं । ओढ्नलाई हामीसँग स्लिपिङ ब्याग थियो । तर त्यो पनि आधाउधी भिजेछ । पलास्टिकको ओछ्यानमा भिजेको स्लिपिङ ओढेर रात कटाउनुको विकल्प थिएन । यसकाराण हामीले यो भन्दा पर केही सोचेनौं ।

 

हाम्रो साथमा रहेका क्यामेरा र अरु सर–सामानको अवस्था के छ भनेर हेर्दै जादाँ मेरो क्यामेरा खुल्दै–खुलेन । ‘चिसोले ब्याट्री डाउन भएको होला !’ टेकराजले भने । अनि मलाई पनि त्यस्तै लाग्यो । मसँग एक्ट्रा ब्याट्री थिएन । यसकारण परीक्षण गरिएन । यसबाहेक अरु सामान ठिकठाक नै थिए । भोलि टेकराजकै क्यामेराले तस्बिर र भिडियो खिचौंला भन्ने सल्लाह भयो ।

 

भोक र प्यासले सीमा नाघिसकेको थियो । झोलामा भएको बिस्कुट, चाउचाउ निकालेर चपाउन थाल्यौं । हामीसँग पानी थिएन । ‘माथी गोठमै पाईन्छ’ भनेर कसैले भनेको थियो यसकारण हामीले पानी बाकेका पनि थिएनौं । धन्न बिस्कुट, चाउचाउसम्म बोकिएछ ।

 

अघिसम्म ओत लाग्ने ठाउँ मात्रै खोजेका हामी सुत्ने ठाउँ नै पाउदाँ पनि अरु सुविधा खोज्न थालेका थियौैं । यही त हामी मान्छेको सबैभन्दा अच्चम्मको स्वभाव हो । हामीलाई एकपछि अर्को सुविधा चाहिन्छ नै । अर्थात् हाम्रो अन्तिम प्राप्ति भन्ने नै छैन । यसैको उदाहरण थियो सुत्ने पछि खाने, खानेपछि पिउने आवश्यकताको बोध भएको ।

 

पानीले भिजेका ओड्ने–ओछ्याउने अनि करिब सात घण्टाको हिँडाईले लखतरान भएका हामीलाई निदाउन त निकै मुस्किल भयो तर ‘धन्न बाँचियो है’ भन्ने भावले खुसी बनायो ।

 

चौंरी लेक जाने अनि त्यहिँका गोठालाको गोठमा बास बस्ने भन्ने योजनाका साथ आएका हामी यतिबेला कहाँ आईपुग्यौं भन्ने कुराको कुनै टुंगो थिएन । भोलि बिहान भएपछि मात्रै यो सब थाहा लाग्नेवाला थियो ।

 

राति कतिबेला पो हो सबैजना भुसुक्क भईएछ । बिहान ६ बजेतिर टेकराजले हामीलाई बिउँझ्याए । उचाईमा भएर होला घाम झुल्किसकेको थियो । हिमालको माथीबाट भएको सूर्योदय कम्ता सुन्दर थिएन । अनि कम्ता सुन्दर थिएन हामी बास बसेको डाडाँ पनि । केही नसोची हामी सूर्योदय र आसपासको दश्य खिच्न थाल्यौं ।

 

हिजोको दुःख यो सुन्दरताले लगभग बिर्साईदिएको थियो । रातीभरी हामी कता–कता भौतारिएछौं र कहाँ पुगेछौं भन्ने कुराको टुंगो लाग्यो । हामी त चौंरीको विपरीत अर्थात आर्कैतिर आएर पो बास बसेछौं । चौंरी लेक त अझै टाढै थियो । थप साढे १ घण्टा जस्तो हिँडेर हामी गन्तव्यमा पुग्यौं ।

 

करिब ४ हजार उचाईमा अवस्थित चौंरी लेक पुगेर गोठालासँग पानी मागेर खायौं । सुस्तायौं अनि अघिल्लो रातको दुःख सम्झिेर कतिबेला हाँस्दै, कतिबेला ‘ला.. यस्तो भएको भए के हुन्थ्यो होला है !’ भन्दै बाँकी समय हामी यहाँको प्राकृतिक सुन्दरतामा मग्न भयौं ।

 

मैले टेकराज कै क्यामेरा प्रयोग गरेर दृश्यहरु कैद गरे । मेरो क्यामेरा खुलेन । पछि मर्मत गर्ने ठाउँसम्म पुर्‍याउदाँ थाहा भयो, क्यामेरामा पानी पसेर ठूलै क्षति भएछ । क्यामेरा मर्मत हुने–नहुने निश्चित छैन । भएपनि ‘आधा लाख रुपैयाँ जती खर्च लाग्छ’ भनेको छ । यो यात्राका बाँकी दुःख–सुखहरु त समय अनुसार बिर्सने–सम्झिने चलिरहन्छ । तर क्यामेरा बिग्रेको दुःखले भने सताईरह्यो । एकमनले दुःख मानेपनि अर्को भने ‘जे हुन्छ राम्रैका लागि हुन्छ’ भन्ने भाव पैदा भएको छ अनि ‘लागे रहो’ वाला जाँगर मनभरी छ ।

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्