‘छक्का पन्जा ५’ मा प्रेम,राजनीति र कमेडी

सोमबार, असोज २१, २०८१

व्यावसायिक रूपमा अत्यधिक सफल मानिएको ‘छक्का पन्जा’ शृखलाको पछिल्लो फिल्म ‘छक्का पन्जा ५’ ले प्रदर्शनीमा आउनु पाँच दिनअघि मात्र शनिबार ट्रेलर सार्वजनिक गरेको छ ।

 

 

 

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको दीपाश्री निरौला निर्देशित यो फिल्मले फूलपातीको दिन बिहीबारदेखि प्रदर्शन थाल्दैछ । चार मिनेट लामो फिल्मको ट्रेलरमा राजनीति र प्रेमकथालाई हास्यरसमा पस्कन खोजेको देखिएको छ ।

 

फिल्मको कथा तथा पटकथा दीपकराज गिरीले तयार पारेका हुन् भने संवाद लेखनमा भने उनले केदार घिमिरे ‘माग्नेबुढा’ र दिलीप तामाङसँग सहकार्य गरेका छन् । यसपटक पनि ‘राजा’ कै चरित्रलाई केन्द्रीय भूमिकामा निरन्तरता दिइएको फिल्ममा दीपक, केदारसहित वर्षा सिवाकोटी, राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा, उत्तम केसी, ब्रजेस खनाल, हिउँवाला गौतम, नवीन श्रेष्ठ, दमन रूपाखेती, लोकेन्द्र लेखक, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।

 

केदार र निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्ममा केशव न्यौपाने र दीपेन्द्र खनियाँ निर्माताका रूपमा रहेका छन् । हरि हुमागाईंको छायांकन रहेको फिल्ममा विपिन मल्लको सम्पादन, गम्भीर बिष्ट र सुनिल क्षेत्रीको नृत्य निर्देशन तथा शम्भुजित बाँस्कोटा, दीपक शर्मा र बाबुल गिरिको संगीत समावेश छ ।

 

 

 

 

यसअघि ‘छक्कापन्जा ५’ ले सार्वजनिक गरेको ‘ब्रेकअप सङ’ का शब्द रचना यौनिक तथा वर्गीय दृष्टिकोणले दोषरहित हुन नसकेको भन्दै विवादित पनि बनेको थियो । तर युट्युबमा रिलिज गरेको १७ औं दिनसम्ममा ९१ लाखभन्दा बढी पटक हेरिसकिएको छ भने यसमा टिकटक र रिल्स पनि व्यापक मात्रामा बनाइएका छन् ।

 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्