दशै मनाउन घर जाने यात्रुहरुलाई हवाई तथा बस टिकट पाउन मुस्किल,सरकार मौन

सोमबार, असोज २१, २०८१

२१,असोज–काठमाण्डौं । यो बर्षको बडादसैँ मनाउन घर जाने यात्रुहरुले हवाई तथा बस टिकट पाउन मुस्किल भएको छ । दशैको मुखमा बाढी पहिरोले धनजन र सडकको भौतिक क्षती पु¥या्एसँगै सार्बजनिक यातायातहरुले चर्को भाडा बढाएका छन् । त्यो पनि टिकट पाउनै मुस्किल भएको यात्रुहरुले बताएका छन् । घर जाने यात्रुहरुको संख्या भने दिनहुँ बढ्दा पनि व्यावस्थापनमा सरकार भने मौन भएको छ । हवाई टिकट दोब्बर बढाएको भन्दै जनताले बिरोध गर्दा समेत सरकार बेखबर भएको छ । जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् ।

 

अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ । दसैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । उनका शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्म मात्रै १६ हजार चार सय ६५ जना काठमाडौँबाट बाहिरिएका छन् ।

 

दसैँका लागि काठमाडौँ उपत्यका छाड्नेका कारण अहिले यहाँका नाका तथा राजमार्गहरूमा गाडीको जाम लाग्ने गरेको छ । कतिपय ठाउँहरूमा सडक भत्किने तथा भासिने गरेका कारण सवारीसाधन चलाउन तथा यात्रुहरूलाई निकै सास्ती हुने गरेको गाडी चालक बताउँछन् । बस तथा जहाजको टिकट पाउनै मुस्किल भएका कारण अधिकांश नागरिकहरू दसैँको समयमा पनि घर जान नपाएर काठमाडौँ उपत्यकामै रोकिन बाध्य भएका छन् । दसैँका लागि भन्दै अहिले यात्रुहरू महँगो मूल्य तिरेर बस तथा हवाईमा यात्रा गर्न बाध्य भएका छन् ।

 

 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १५:००
प्रतिक्रिया दिनुहोस्