सन् २००५ पछि समुद्रको तापमान दोब्बरले बढ्यो

सोमबार, असोज २१, २०८१

काठमाडौं । जलवायु परिवर्तनका कारण विश्वव्यापी तापमान वृद्धिसँगै महासागर तात्ने गति पनि सन् २००५ पछि करिब दोब्बर भएको छ । युरोपीय संघको निगरानी संस्था कोपरनिकसको ताजा रिपोर्टले यो कुराको खुलासा गरेको हो ।

 

महासागरले पृथ्वीको सतहबाट ७० प्रतिशत भाग ढाक्छ र वायुमण्डललाई सन्तुलनमा राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

 

 

 

 

कोपर्निकसको समुद्र विज्ञ करिना फोन शुकमानका अनुसार सन् १९६० को दशकदेखि महासागरको तापमान लगातार बढिरहेको छ । तर सन् २००५ पछि यसको वृद्धिदर अझ तीव्र भइरहेको छ । ‘पछिल्लो दुई दशकदेखि तापक्रम वृद्धिको गति करिब दोब्बर भएको छ,’ उनले भनिन्, ‘यसको वृद्धिदर ०.५८ प्रतिवर्गमिटरबाट १.०५ प्रतिवर्गमिटरसम्म पुगेको छ ।’

 

यो निष्कर्ष इन्टर गभर्नमेन्टल प्यानल फर क्लाइमेट चेन्ज (आईपीसीसी)को विचारसँग मेल खान्छ । उसले, मानिसका कारण ग्रह तात्ने ग्याँस उत्सर्जनले महासागरलाई असर गर्छ भन्ने विचार राख्छ ।

 

 

 

 

आईपीसीसीका अनुसार सन् १९७० पछि कार्बन डाइअक्साइड र अन्य ग्रिनहाउस ग्याँस उत्सर्जनका कारण वायुमण्डलमा फैलिने अतिरिक्त तातोपनाको करिब ९० प्रतिशत महासागरले सोस्छ । त्यसैले महासागार पनि तात्छ । अनि महासागर तात्दा विश्वको मौसमी गतिविधि र वर्षा हुने प्रणाली प्रभावित हुन्छ । त्यसबाट तुफान, चक्रवात र अन्य चरम मौसमी घटना सिर्जना हुन्छ ।

 

कोपर्निकसको रिपोर्ट अनुसार सन् २०२३ मा विश्वका २० प्रतिशतभन्दा बढी महासागरहरुमा कम्तिमा एकपटक गम्भिरदेखि चरम गम्भिर अवस्थासम्म समुद्रमा तातोलहर चलेको छ । त्यसबाट समुद्री जीवन र मत्स्यपालनमा प्रतिकूल प्रभाव पर्दछ ।

 

समुद्री प्रजातिमाथि असर

 

वैज्ञानिकहरुका अनुसार महासागरमा तातो लहर बढ्दा केही समुद्री जीवको पलायन वा सामूहिक मृत्युसमेत हुनसक्छ । त्यसले इकोसिस्टम (पारिस्थितिक प्रणाली) लाई क्षति पुग्छ, पानीको प्रवाहलाई असर गर्छ र पोषक तत्व वितरण रोकिन्छ ।

 

समुद्रविज्ञ शुकमानका अनुसार समुद्र तातो हुने अवधि पनि बढेको छ । सन् २००८ देखि तातो हुने औसत अवधि बढेर २० देखि ४० दिनसम्म पुगेको छ । आर्कटिकको उत्तरपूर्वी ब्यारेन्ट्स सागरको पिँधसम्मको केही हिस्सामा तातो लहर देखिएको छ ।

 

भूमध्य सागरमा सतहबाट करिब १ हजार ५०० मिटर तलसम्म तातो लहर पुगेको थियो । यसबाट थाहा हुन्छ तापमान वृद्धि हुँदा समुद्रको गहिराइसम्म पनि तातो लहर पुगेर क्षति पुर्‍याउन सक्छ ।

 

महासागर तात्दा जैविक विविधतामा पनि असर गर्छ । समुद्रदेखि जमिनसम्मको जीवन र वायुमण्डलको प्रणालीसम्म प्रभावित हुन्छ ।

 

 

 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्