एमाले पाल्पाको जनसंगठन समन्वयकाे अन्तरक्रिया

सोमबार, असोज २१, २०८१

पाल्पा । नेकपा एमाले पाल्पाको आयोजनामा जनसंगठन समन्वय संयन्त्रको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा रहेका जनवर्गीय संगठनहरुको परिचालन र क्रियाशीलताका लागि अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

 

अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा पाल्पा इन्चार्ज ठाकुरप्रसाद गैरेले जनवर्गीय संगठन पार्टीको मेरुदण्ड भएको बताउनुभयो । उहाँले सवै जनसंगठनहरु आफ्नो विधान अनुसार अनुसाशित भएर चलायमान हुनुपर्ने बताउनुभयो । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति तथा प्रतिनिधि सभा सदस्य समेत रहनुभएका गैरेले जनसंगठनहरुले कार्यक्रम गर्दा पार्टीको नीति, सिद्धान्त र पछिल्लो पटक निर्माण गरेको निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजनालाई टेकेर गर्नुपर्नेमा जोड दिनुभयो ।

 

एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले पार्टी बलियो बनाउन सबै जनसंगठनको उतिकै महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँहरुले विषयगत जनसंगठनहरु आफ्नौ क्षेत्रमा रहेका समस्या पहिचान र समाधानका लागि समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

 

अन्तरक्रिया कार्यक्रमको उद्देश्य माथि नेकपा एमाले पाल्पाका अध्यक्ष तथा जिल्ला जनसंगठन समन्वय संयन्त्रका संयोजक ओमबहादुर घर्तीमगरले प्रकाश पार्नुभएको थियो । उहाँले एमालेका जनसंगठनको सक्रियताका कारण नै जिल्लामा पार्टी पहिलो राजनीतिक शक्ति भएको बताउर्दै पार्टीको २३ जनसंगठन मध्य पाल्पामा २२ वटा जनसंगठन सक्रियता रहेको जानकारी गराउनुभयो । संगठनहरुले काम गर्दा विषयत रुपमा देखिएका सम्भावना, भोग्नु परेका समस्या र चुनौतीका विषयमा जानकारी लिने र थप सक्रियताका साथ काम गर्ने योजना निर्माणका लागि कार्यक्रम गरिएको अध्यक्ष घर्तीमगरले बताउनुभयो ।

 

अन्तरक्रिया कार्यक्रममा सहभागी जनसंगठनका प्रमुख तथा इन्चार्जहरुले आफूहरुले सम्पादन गरेका गतिविधिका विषयमा जानकारी गराएका थिए । उनीहरुले पार्टीलाई कामका आधारमा जनताले चिन्ने वातावरण निर्माणका लागि पार्टी, जनप्रतिनिधि र जनसंगठनहरु एक भएर समन्वय र सहकार्यमा काम गर्नुपर्ने बताएका थिए ।

 

 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्