पाल्पामा ७० औँ विश्व कुष्ठ रोग दिवस मनाइयाे

बुधबार, मंसिर २७, २०८०

पाल्पा – पाल्पामा ७० औँ विश्व कुष्ठ रोग दिवस मनाइएको छ । उक्त दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा भएको कार्यक्रमका सहभागीहरूले समयमै उपचार गरे कुष्ठ रोग निको हुने र त्यसले उक्त रोग उन्मुलनमा सहयोग पुग्ने बताएका थिए । सहभागीहरूले कुष्ठ रोग कुनै पापका कारण नभई माइक्रोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म जीवाणुका कारण लाग्ने भएकाले यसको समयमै उपचार गरे निको हुनेमा जोड दिएका थिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले अहिले पनि ग्रामीण क्षेत्रमा कुष्ठ रोग लागेमा लुकाउने प्रचलन रहेकाले त्यसलाई समयमै उपचार गर्न आग्रह गर्नुभयो । डा. गिरीले पाल्पा जिल्लामा कुष्ठ रोगीको सङ्ख्या बढ्दै जानुले सरोकारवाला निकाय थप सचेत हुनुपर्ने र आवश्यक न्युनीकरणका उपाय अबलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले कुष्ठ रोगको निवारणका लागि आम नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभयो । कुष्ठ रोगको नियन्त्रणका लागि पालिका, प्रदेश र संघीय सरकारले कार्यक्रम सन्चालन गर्न सुझाव दिनुभयो । कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, जिल्ला सभापति भरत शर्मा, चाैतारीका जिल्ला अध्यक्ष कृष्ण कार्की, प्रेस सेन्टरका काेषाध्यक्ष कमल अधिकारी, कृष्ण पाेखरेललगायतले बाेल्नुभएकाे थियाे ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानले रोगबारे प्रस्तुतीकरण गर्नुहुँदै पाल्पामा हाल १२ जना कुष्ठ रोगी रहेको जानकारी दिनुभयो ।

उहाँले १२ जनामध्ये ९ जना पुरुष र ३ जना महिला रहेको बताउँदै उनीहरु सबै उपचारको क्रममा रहेको बताउनुभयो । नेपालमा हाल दुई हजार तीन सय बढी कुष्ठ रोगी रहेको बताउँदै न्यौपानेले कुष्ठ रोगको नियन्त्रणका लागि संचारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

कुनै मानिसको छालामा रातो रंगको फोका देखिएमा, रातो भएको छालाको भाग छुँदा थाहा नपाउने भएमा, छाला फुस्रो भएमा कुष्ठ रोगको आशंका गर्नुपर्ने उहाँले बताउनुभयो । कुष्ठ रोग औषधि सेवनबाट निको हुने भएपनि लामो समयसम्म बेवास्ता गर्दा अपाङ्गता हुन सक्ने सम्भावना बढी हुने चिकित्सकको भनाई छ ।

कार्यक्रममा पाल्पामा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रम स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टिकाराम अधिकारीको संचालन र स्वास्थ्य कार्यालय प्रमुख डा. गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय