वडा कार्यालयमै उपभोक्ता समितिको खाता खोल्ने रामपुर नगरपालिका र बैंकहरु विच सहमति

शुक्रबार, असोज ४, २०८१

पाल्पा , रामपुर नगरपालिकाले पालिका भित्रका बैकहरु संग छलफल गरेको छ । बैंकहरुले दिने सेवा र नगरपालिका संगको समन्वयका सम्बन्धमा बुधबार छलफल गरेको हो । सामाजिक सुरक्षा भत्ता लिने नगरबासी लाभग्राहीहरुको सुविधा र योजनाका उपभोक्ता समितिको बैंक खाता सञ्चालनका सम्बन्धमा छलफल भएको हो ।

 

छलफलले रामपुर नगरपालिकामा यो आर्थिक वर्षमा सञ्चालन हुने योजनाको बैंक खाता खोल्नका लागि हरेक वडामा गएर बैंकिङ सुविधा दिने निर्णय गरेको छ । नगरपालिका भित्र रहेका ९ वटा बैंक तथा विकास बैंकहरुले नगरवासीको सुविधाका लागि सवै वडामा गएर योजना उपभोक्ता समितिलाई खाता खोल्ने सेवा दिने भएका छन् । यस संगै नगरपालिकाका सबै वडा कार्यालय मार्फत योजना उपभोक्ता समितिको बैंक खाता खोल्ने भएको छ ।

 

साथै आगामी दिनमा रामपुर नगरपालिका संगको समन्वयमा घुम्ति सेवा मार्फत नगरबासीहरुलाई सामाजिक सुरक्षा भत्ता वडा तथा टोलबाटै वितरण गर्ने भएको छ । नगरपालिकाको कार्यालयमा भएको छलफल कार्यक्रममा बोल्दै कृषि विकास बैंक रामपुर शाखाका प्रमुख केशवराज डोटेलले नगरपालिकाले जनताको सेवाका लागि नगरपालिकाले अनुरोध गरेको जिम्मेवारी पुरा गर्ने बताउनुभयो ।

 

जनता बैंक रामपुर शाखाका प्रबन्धक कृष्ण प्रसाद भट्टराईले उपभोक्ता समितिको खाता खोल्न हरेक वडामा गएर खोले पनि कारोबार सकिए पछि खाता बन्द नगर्ने समस्या रहेकाले यसको सहजिकरण गरिदिन आग्रह गर्नुभयो । यस्तै लक्ष्मी सनराईज वैंक रामपुर शाखाका प्रमुख अमृत खड्काले सुरक्षा र अन्य आवश्यक व्यवस्थापन गरे वडा र टोलबाट सेवा प्रवाह गर्न सक्ने बताउनुभएको छ ।छलफल कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं.1 का अध्यक्ष कपिल बहादुर खाँणले बैंकले दिने हरेक वित्तीय सेवालाई सहज र सरल बनाउनु पर्नेमा जोड दिनुभयो ।

 

साथै बैंक र नगरपालिका दुवै जनताको सेवाका लागि भएकाले सेवा प्रवाह तथा कार्यक्रम सञ्चालन गर्दा समन्वय र सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । यस्तै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले नगरबासीको सुविधा र आर्थिक समृद्धिका लागि सहज र सरल तरिकाले लगानी गर्न आग्रह गर्नुभयो । उहाँले उद्यम र आम्दानीको आधारमा  लगानी गर्न आग्रह समेत गर्नु भएको छ ।

 

छलफल कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बैंकले दिने सेवालाई जनमुखी बनाई बैंक र नगरपालिका विच समन्वय गर्न आवश्यक रहेको बताउनु भएको छ । नगर प्रमुख थापाले रामपुर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिका भित्र सञ्चालन गर्ने योजना उपभोक्ता समितिको खाता सञ्चालनमा एक रुपता ल्याउन नगरपालिका भित्रका सबै बैंकहरुलाई आग्रह गर्नु भएको छ ।

 

नगरबासीको सुविधाका लागि प्रत्येक वडा कार्यालयमा गएर खाता खोल्ने र सामाजिक सुरक्षा भत्ता पनि वडा र टोलबाट वितरण गर्ने नगरपालिकाको योजना रहेकाले यसका लागि सहयोग गर्नु पर्ने बताउनुभयो । साथै अन्य सेवा भन्दा वृद्ध वृद्धा र शारिरिक रुपले फरक क्षमताका व्यक्तिहरुलाई प्राथमिकता दिएर सेवा प्रवाह गरी बैंक मार्फत दिने सेवालाई प्रभावकारी र सहज बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

 

नगर प्रमुख थापाले नगरपालिकामा दर्ता भएर सञ्चालनमा आएका व्यवसायलाई सहज रुपमा लगानी गर्नु पर्ने भन्दै नगरपालिकाले सञ्चालन गरेको व्याज अनुदान कार्यक्रमलाई पनि सहजिकरण गर्नु पर्नेमा जोड दिनुभयो ।बैंकका शाखा प्रमुख र रामपुर नगरपालिकाविच भएको छलफलले योजना उपभोक्ता समितिको खाता खोल्ने बैंकको बाँडफाँड गरेको छ । यस संगै रामपुर नगरपालिका वडा नं.१ र १० को कृषि विकास बैंक,वडा नं.2 को लक्ष्मी सनराईज बैंक,३ को मुक्तिनाथ विकास बैंक,वडा नं.४ को नेपाल एस वि आइ बैंक,वडा नं.५ को गरिमा विकास बैंक,वडा नं.6 को कामना सेवा विकास बैंक,वडा नं. ७ को एनआईएमवि बैंक,वडा नं.८ को राष्ट्रिय वाणिज्य बैंक र वडा नं.९ को ग्लोबल आइएमई बैंक रामपुर शाखाले वडा कार्यालयमै गएर योजना उपभोक्ता समितिको खाता खोल्ने भएको छ ।

 

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो ।छलफलमा सहभागि बैंकका शाखा प्रमुखहरुले नगरपालिकाको कार्यालय संग सम्बन्धित वित्तीय सेवालाई छिटो छरितो सहज र प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् । 

 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्