रामपुर नगरपालिका भित्र एकादशी र ‍औँशी तिथिमा पशुपंक्षी वध गर्न नपाइने

शुक्रबार, असोज ४, २०८१

पाल्पा , रामपुर नगरपालिकाले औँशी र एकादशीका दिन पशुपंक्षी वध गर्न नपाइने भएको छ ।नगरपालिकाले धार्मिक आस्था र परम्परा तथा स्वास्थ्यका लागि सो तिथिका दिन पशुपंक्षी वध गर्न नदिने भएको हो ।

  नगरपालिकाले एक सूचना जारी गर्दै धार्मिक सहिष्णुता र सद्भाव कायम राखी धार्मिक आस्थामा असर नपुर्‍याउन र स्वास्थ्यका लागि ‍औँशी र एकादशीका दिन पशुपंक्षी बध नगर्न अनुरोध समेत गरेको छ । "औँशी र एकादशीका दिनमा पशुपंक्षी वध नगर्दा धार्मिक सहिष्णुता र सदभाव पनि कायम हुने धार्मिक आस्थामा पनि असर नपर्ने र स्वास्थ्यको हिसाबले पनि फाइदाजनक हुने हुँदा एकादशी र औँशीको दिनमा पशुपंक्षी वध नगर्न नगराउनु हुनका लागि यो सूचना प्रकाशन गरिएको छ" -सूचनामा भनिएको छ । यस संगै अब रामपुर नगरपालिका क्षेत्र भित्र एकादशी र औँशीमा पशुपंक्षी वध गर्न नपाउने भएको छ ।

 

    एकादशी र औँशीमा पशुपंक्षी वध गर्दा धार्मिक आस्थामा असर पुगेको भन्दै रामपुर नगरपालिकाको कार्यालयमा जनगुनासो बढेपछि नगरपालिकाले यस्तो निर्णय गरेको रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणले बताउनुभयो । यस संगै रामपुर नगरपालिका क्षेत्र भित्र एकादशी र औँशी तिथिका दिन कुनै पनि व्यक्ति र समुदायले पशुपंक्षी वध गर्न नपाउने प्रवक्ता खाँणले जानकारी दिनुभयो । नगरपालिकाको निर्णय र सूचनालाई वेवास्ता गरि एकादशी र औँशीमा पशुपंक्षी वध गरेको पाईएमा कारवाही गरिने रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन पण्डितले बताउनुभयो ।

459267815_478174391714721_5687661264527605285_n-1726797152.jpg
 

   रामपुर नगरपालिका आफैमा धार्मिक महत्वको क्षेत्र भएकोले धार्मिक सद्भाव संगै मानवीय स्वास्थ्यका लागि एकादशी र औँशी तिथिमा पशुपंक्षी वध नगर्ने निर्णय गरेको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । धार्मिक साँस्कृतिक परम्परा अनुसार एकादशी र ‍औँशीको दिनमा पशुपंक्षी वध गर्न नहुने भन्ने मान्यता समेत रहेको र स्वास्थ्यका लागि पनि फाइदा हुने भएकाले उक्त दिनहरुमा पशुपंक्षी वध नगर्न नगर प्रमुख थापाले आग्रह समेत गर्नु भएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०७:३८
प्रतिक्रिया दिनुहोस्