तानसेनकाे एक अर्ब ७६ करोड बराबरको बजेट

शनिबार, असार ८, २०८१

पाल्पा -  तानसेन नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार आयोजित १५ औं नगर अधिवेशनको पहिलो बैठकमा बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको हो। नगर उपप्रमुख प्रतीक्षा सिंजालीले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७६ करोड ७६ लाख २० हजार ९५७ बराबरको अनुमानित बजेट सार्वजनिक गरेकी हुन्।

 

 

चालु खर्चतर्फ ८४ करोड ७७ लाख ७ हजार ५५७ अर्थात् ४७.९६ प्रतिशत बजेट विनियोजन गरिएको छ। पुँजीगत खर्चतर्फ ९१ करोड ९९ लाख १३ हजार ३८२ अर्थात् ५२.०४ प्रतिशत बजेट विनियोजन गरिएको उनले बताइन्।

 

शहरी शासकीय कार्यक्रमतर्फको पुँजीगत  रकमको कारण पुँजीगत खर्च बढी देखिएको उनले बताइन्। उनका अनुसार भौतिक पूर्वाधार विकासतर्फ सबैभन्दा बढी ८३ करोड ८१ लाख ९२ हजार ४५३ रुपैयाँ विनियोजन गरिएको छ। सामाजिक विकासतर्फ ६९ करोड ३७ लाख ५९ हजार ४७२, सुशासन तथा संस्थागत विकासतर्फ १४ करोड ८८ लाख ३७ हजार ७०२, आर्थिक विकास क्षेत्रतर्फ ६ करोड २ लाख ४६ हजार १३९ वातावरण तथा विपद् व्यवस्थापनतर्फ २ करोड ६५ लाख ८५ हजार १८९ रुपैयाँ बजेट छुट्याइएको छ।

 

 

आगामी आर्थिक वर्षको आन्तरिक राजस्वबाट  १८ करोड ४३ लाख १७ हजार ९५७ आन्तरिक आम्दानी हुने अनुमान रहेको उपप्रमुख सिंजालीले बताइन्।

बजेट तर्जुमा गर्दा सार्वजनिक सेवा प्रवाह र सुशासनलाई प्राथमिकता दिइएको छ। यस्तै पूर्वाधार विकास तथा पुँजी निर्माण, शिक्षामा गुणात्मक विकास, कृषि क्षेत्रको व्यवसायिकरण, बजारीकरण र आधुनिकीकरण, आय आर्जन र स्वरोजगार, मानव संशाधन विकास र वातावरण संरक्षण र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखिएको उनले स्पष्ट पारिन्।

 

 

यसअघि शुक्रबार नै नगरप्रमुख सन्तोषलाल श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। आर्थिक वर्ष २०८१र०८२ देखि २०८५/०८६ सम्मको प्रस्तावित आवधिक योजनामा समृद्ध सांस्कृतिक नगर  भन्ने दीर्घकालीन सोच तय भएको र सोही सोच र निर्धारित लक्ष्यलाई आधार मानी यो नीति तथा कार्यक्रम तर्जुमा गरिएको उनले बताए।

 

 

स्वस्थ, शिक्षित, उद्यमशील, व्यावसायिक, सभ्य र सुखी नागरिक बसोबास गर्ने स्वच्छ, सुन्दर, पर्यटकीय, व्यवस्थित, समावेशी र समृद्ध सांस्कृतिक नगरपालिकाको योजनालाई सफल पार्नका लागि नीति तथा कार्यक्रममा प्राथमिकता दिएको नगरप्रमुख श्रेष्ठले बताए।

प्रस्तुत नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा सघाउन सबैसँग अनुरोध गरे। संसदीय अभ्यास गरी अधिवेशन संचालन भएको थियो। अर्को बैठक यही असार २८ गते दिउँसो १ बजे बस्‍नेछ।

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १७:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय