न्यायीक समिति संग प्रहरी साझेदारी कार्यक्रम रामपुरमा सम्पन्न

मंगलबार, असार ४, २०८१

पाल्पा, रामपुर नगरपालिका वडा नं. ७ पाल्पामा न्यायीक समिति संग प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनमा समाजमा हुने विभिन्न हिंसा तथा अपराध सम्बन्धि सचेतनामूलक कार्यक्रम सोमबार सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले समाजमा घरेलु हिंसा व्याप्त रहेको भन्दै यसको न्यनीकरण र नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो ।विभिन्न विकृति विसंगतीका कारण हिंसा बढेको भन्दै यसले मानिसलाई विचलित बनाई विभिन्न घटना समेत हुने भएकाले यसका लागि सबै सचेत हुनु पर्ने बताउनुभयो । प्रविधिको प्रयोग र विभिन्न सामाजिक सञ्जालले विकृति संगै हिंसा फैलाई रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । नगर प्रमुख थापाले शान्त ,समुन्नत, हिंसा एवं अपराध रहित समाज निर्माणका लागि सबैमा सकारात्मक सोँचको खाँचो रहेको औँल्याउनुभयो । यस्तै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले नगरपालिकालाई हिंसामुक्त बनाउनका लागि प्रतिबद्ध भएर लागेको बताउनुभयो । यसका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।

 

 यस्तै वडा नं.७ का वडा अध्यक्ष दोवराज तिवारीले अपराध र हिंसा मानविय व्यवहारका कारण हुने भन्दै समाजिक सञ्जाल र प्रविधिको प्रयोगमा सचेत हुनु पर्ने बताउनुभयो । यस्तै आधारभूत माध्यमिक विद्यालय रामपुर ७ डुम्रीगाँउका प्रधानाध्यापक रुपनाथ गौतमले विद्यार्थीहरुमा सचेतनाको अभावका कारण बाल विवहा गर्ने समस्या रहेको र सोही कारण विभिन्न हिंसा निम्तिएको भन्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका वडा नं.७ का मेलमिलापकर्ता तिल बहादुर श्रेष्ठ र टोल विकास संस्थाहरुको तर्फबाट मनोरथ भट्टराईले बोल्दै हिंसा र अपराध नियन्त्रणका लागि सबै लाग्नु पर्ने बताउनुभयो ।

 

कार्यक्रममा ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाका प्रहरी निरिक्षक शालिकराम खनालले विभिन्न प्रकारका हिंसा,यसको कानुनी उपचारको व्यवस्था, अपराध ,बाल विवहा लगाएतका विषयमा सहजिकरण गर्नु भएको थियो । धर्मोदय दशअवतार साँस्कृतिक बाल समुहको भवन साउनेधारमा भएको कार्यक्रम रामपुर नगरपालिकाका न्यायीक समिति सदस्य तथा वडा नं. ७ का सदस्य खेमराज अधिकारीको स्वागत र न्यायीक समिति सचिवालय सचिव पार्वती परियारको सञ्चालनमा सम्पन्न भएको हो । 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ०६:१३
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय