गत आर्थिक वर्षमा एनआइसी एशिया बैंकको कर्जा ९१ अर्बले बढ्यो – Mero Samachar

गत आर्थिक वर्षमा एनआइसी एशिया बैंकको कर्जा ९१ अर्बले बढ्यो

गत आर्थिक वर्षमा एनआइसी एशिया बैंकको कर्जा ९१ अर्बले बढ्यो class=

कर्जा खबर, काठमाडौं ।

एनआइसी एशिया बैंकले गत आर्थिक वर्षमा कुल ९१ अर्ब रुपैयाँ कर्जा बढाएको छ।

बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार असार मसान्तसम्म कुल कर्जा रकम २६५ अर्ब पुगेको छ। जुन २७ वटै वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै हो।

मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ७१९ अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको सर्वाधिक उच्च १२.६६ प्रतिशत बजार हिस्सा रहेको छ।

यसै गरी बैंकको स्वदेशी मुद्राको निक्षेपतर्फ करिब ९० अर्बले वृद्धि भई कुल स्वदेशी मुद्राको निक्षेप संकलन २९८ अर्ब पुगेको छ।  जुन २७ वटै वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै हो।

मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ६५५ अर्ब निक्षेप वृद्धिमा यस बैंकको हिस्सा १३.५८ प्रतिशत रहेको छ।

बैंकले आ.व. २०७७/७८ मा ३ अर्ब २५ करोड खुद मुनाफा आर्जन गरेको छ भने वार्षिक प्रतिशेयर आम्दानी २८.११ पु¥याएको छ। त्यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल (आरओई) १७.१४ प्रतिशत रहेको छ।

चुनौतिका बावजुद कर्जा असुलीतर्फ पनि निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भएको छ। आ.व. २०७६/७७ को अन्त्यमा ०.७५ प्रतिशत रहेको निष्कृय कर्जालाई आ.व. २०७७/७८ को चौथो त्रैमाससम्ममा ०.४६ प्रतिशतमा झार्न बैंक सफल भएको छ।

साथै, गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ। साना तथा मझौला र कृषि कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा छ।

 यस बैंकको कुल कर्जामा ५ करोड भन्दा कम सीमा भएका कर्जाहरूको अंश ९०.५६ प्रतिशत रहेको छ। बैंकले निक्षेपतर्फ पनि स–साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्बन गरेको छ।

बैंकले आ.व. २०७७/७८ मा ४ लाख ६६ हजार ४९५ नयाँ ग्राहक संख्या थप गर्दै २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी बैंकको कुल २८ लाख २७ हजार भन्दा बढी खाताधनीलाई सेवा प्रदान गर्दै आइरहेको छ।

यस बैंकको ग्राहक संख्या निजी क्षेत्रका वाणिज्य बैंकहरूको तुलनामा सर्वाधिक उच्च रहेको छ। देशको कुल जनसंख्या मध्ये २० वर्ष उमेर समूह देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ।

बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक आ.व. २०७७÷७८ को तेस्रो त्रैमासमा कर्जा, निक्षेप, स्व–पुँजीमा प्रतिफल, शाखा कार्यालय, र एटिएममा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान ओगट्न सफल भएको छ।

कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामिण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्नो ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ। बैंकले हालसम्म ३५६ शाखा, ४७१ एटिएम, ७० विस्तारित काउन्टर तथा ८१ शाखा रहित बैंकिङ्ग सञ्जालमार्फत ग्राहकको बैंकिङ्ग आवश्यकता पूरा गरिरहेको छ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।