५० ग्राम सुन लुकाउन सुटकेसभरि चकलेट ! – Mero Samachar

५० ग्राम सुन लुकाउन सुटकेसभरि चकलेट !

५० ग्राम सुन लुकाउन सुटकेसभरि चकलेट ! class=

१५ पुस, काठमाडौं । बुधबार कतार एयरवेजको क्यूआर ६५० उडानबाट सिरहाका मोहम्मद इजराइल मियाँ साँझ ७ः३० बजे काठमाडौं उत्रिए । वैदेशिक रोजगारी सकेर नेपाल फर्किएका २१ वर्षीय मियाँले बोकेको हरियो सुटकेसलाई विमानस्थलको एक्सरे मेसिनले अवैध वस्तु बोकेको संकेत गर्‍यो ।

एक्सरे मेसिनको संकेतपछि विमानस्थल भन्सारमा खटिएका अधिकारीहरुले मियाँलाई सुटकेस खोलेर के ल्याएको देखाउन आग्रह गरे । एक्सरे मेसिनको नजिकै मियाँले सुटकेस खोले । सुटकेस चकलेटले भरिएको थियो ।

विमानस्थलका कर्मचारीले सोधे, चकलेट मात्रै होकी अरु पनि केही छ रु मियाँ केहीबेर बोलेनन् । तिमीले ल्याएको संकास्पद वस्तु देखाएनौं र हामीले फेला पार्‍यौं भने राम्रो हुँदैन भन्दै उनीसँग भन्सारका कर्मचारी रिसाए । त्यसपछि मियाँले सुटकेसभित्रको एउटा चकलेटको पोको फुकाए । पोकाबाट एउटा चकलेट जस्तो वस्तु निकाले र त्यसलाई फुकाउन थाले ।

चकलेटको पहिलो पत्र कागज निकालेर मियाँले भुँइमा फ्याँके । त्यसपछि उनले कालो टेप फुकाए । झण्डै एक मिटर लामो कालो टेप निकालेपछि सुनको सिक्री भेटियो । उनले सुनको सिक्री भन्सार अधिकारीलाई बुझाए ।

जानाजान भन्सार छल्न खोजेको आरोपमा मियाँ अहिले प्रहरीको हिरासतमा छन् । २१ वर्षको उमेरमै उनीमाथि भन्सार छली र अवैध सुन तस्करीको कसुरमा थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईकाअनुसार अवैध तरिकाबाट सुन ल्याउन कडाइ थालेपछि फरक फरक ढंगबाट सुन भित्र्याउने कसरत भइरहेको पाइएको छ । मंसिर १३ पछि भन्सारको स्क्यानरले थाहा नपाउलाकी भनेर फरक ढंगले सुन बोक्नेहरु डेढ दर्जन हाराहारी यात्रुलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रमुख भट्टराईले बताए ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।