२० वर्ष पुराना गाडीलाई नेपाली सेनाले कसरी गर्छ विद्युतीयमा परिणत? – Mero Samachar

२० वर्ष पुराना गाडीलाई नेपाली सेनाले कसरी गर्छ विद्युतीयमा परिणत?

२० वर्ष पुराना गाडीलाई नेपाली सेनाले कसरी गर्छ विद्युतीयमा परिणत? class=

नेपाली सेनाले बीस वर्षभन्दा पुराना सवारी साधनलाई विद्युतीय सवारीमा परिणत गर्न थालेको छ। सेनाले प्रयोग गरिरहेका र च्यासिसका साथै अन्य पाटपुर्जा राम्रै अवस्थामा भएका २० वर्ष पुराना पेट्रोल/डिजेल गाडीहरू विद्युतीय बनाएको हो।

हालसम्म तीनवटा जीप र एउटा बस गरेर चारवटा सवारी विद्युतीय बनाइसकेको नेपाली सेनाका इलेक्ट्रोनिक एन्ड मेकानिकल इञ्जिनियर (इएमई) शाखा, भद्रकालीका प्राविधिक सहायक रथी गजेन्द्रनाथ कर्माचार्यले जानकारी दिए।

उनका अनुसार पहिलो चरणमा मारूती जिप्सी किङ-४१३ मोडल, ल्यान्ड रोभर जीप र २६ सिट भएको निसान सिभिलियन बस गरेर तीनवटा गाडी विद्युतीय बनाइएको हो। त्यस्तै आविष्कार केन्द्रसँग सहकार्य गरेर चौथो जीप पनि तयार भइसकेको उनले बताए।

‘लिथियम आयन ब्याट्री र अन्य कन्भर्जन किट प्रयोग गरेर मारूती जिप्सीलाई विद्युतीयमा परिणत गर्न तीन लाख पचास हजार रूपैयाँ खर्च भयो,’ प्राविधिक सहायक रथी कर्माचार्यले भने, ‘निसान सिभिलियन बसमा तीन लाख ७५ हजार खर्च लागेको थियो। ल्यान्ड रोभरलाई बनाउने क्रममा भने करिब तेह्र लाख रूपैयाँ लाग्यो।’

विद्युतीय बनाइएका गाडीहरू स्वयम्भू, चोभारका डाँडा, सोह्रखुट्टेको उकालोजस्ता ठाउँमा परीक्षण गर्दा सफल भएको उनले बताए।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।