२० मंसिर २०७८
(Monday 06 December, 2021)

कपिलवस्तु, ७ भदौ  

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दुई सय ८९ फरार अभियुक्त पक्राउ गरेको छ । प्रहरीले साउनको अन्तिम सातादेखि फरार अभियुक्त नियन्त्रणमा लिने अभियानकै रुपमा सुरुवात गरेको थियो । 

अभियानका क्रममा पुराना फाइल निकालेर फरार अभियुक्तको सूची तयार गरी मातहातका इलाका प्रहरी कार्यालयलाई पत्राचार गरिएको थियो । यसक्रममा पक्राउ परेका मध्ये २० वर्षदेखि फरार २१ जना, १५ वर्षदेखि फरार २९ जना र १० वर्षदेखि फरार ९१ जना रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताए । 

पक्राउ परेका सबैको ५० वर्ष पाँच महिना १९ दिन कैद असुल उपर गर्न बाँकी रहेको छ । यसैगरी १४ लाख ११ हजार चार सय ६ रुपैयाँ जरिमाना असुल उपर गर्न बाँकी रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए । 

सबै फरार अभियुक्तलाई दुई महिनाभित्र पक्राउ गर्ने गरी अभियान सञ्चालन गरिएको छ । जिल्लामा एक हजारभन्दा वढी फरार अभियुक्त रहेको प्रहरीसँग तथ्यांक रहेको छ ।

अभियान अन्तर्गत १४ वर्ष अगाडि कपिलवस्तु जवाभारी २ ( हाल शिवराज ७) महालक्ष्मी सुगर मिल कम्पाउन्डमा गोली हानेर फरार रहेका अभियुक्तलाईसमेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा विजयनगर गाउँपालिका–३ का ३४ वर्षीय बालजी चौधरी, शिवराज नगरपालिका–१० का शहवाज आलम खाँ पक्राउ परेका छन् । दुवैले मिलेर सुगर मिलमा उखु खरिद गर्दै गर्दा विजयनगर गाउँपालिका–७ का ४८ वर्षीय प्रकाश नारायण श्रेष्ठको गोली हानी हत्या गरेका थिए । 

यसैगरी ०६५ सालमा  शिवराज ५ शिवपुरका विश्वनाथ यादवलाई गोली हानी हत्या गर्ने शिवराज–७ का असलम मुसलमानलाईसमेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक जगन्ननाथ मरासीनीले बताए ।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *