वर्षाले क्षति पुर्‍याएपछि कञ्चनपुरका किसान चिन्तित – Mero Samachar

वर्षाले क्षति पुर्‍याएपछि कञ्चनपुरका किसान चिन्तित

वर्षाले क्षति पुर्‍याएपछि कञ्चनपुरका किसान चिन्तित class=

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का गिरजा डगौँराले तीन बिघामा धान खेती गरेका छन् । अधियाँमा धानखेती गरेका उनले खेतको बाली बेमौसमी वर्षाले क्षति पुर्‍याएपछि भित्र्याउन सकेका छैन । पाकेर काट्न तयार भएको धान खेतीमा वर्षाले क्षति गरेको उनले बताए ।

‘पानी पर्ने सूचनाले यसपाली धान काटेका थिएनौँ, चार/पाँच दिनसम्म पानी पर्दा खेतको धानको बाला सबै झरेको छ,’ उनले भने, ‘धान जति सबै झरेर जनावरलाई खुवाउने पराल मात्रै बाँकी छ ।’ उनका अनुसार करिब एक बिघा गहिरो जमिनमा गरेको धान बाली पानी भरिएर कुहिएको छ । गतवर्ष कात्तिकको वर्षाले पनि उनको काटेको धान खेतीमा क्षति गरेको थियो ।

बर्सेनि वर्षाले बालीमा क्षति पुर्‍याएपछि खानलाई अन्नको अभाव हुने स्थिति आएको भीमदत्त नगरपालिका–१७ कै किसान गरिब खुना बताउँछन् । ‘गतवर्ष काटेको धान वर्षाले बिगार्‍यो, अहिले पनि यस्तै भएको छ, अधियाँ गरेर वर्षभरी खाने हामीलाई समस्या भएको छ,’ उनले भने, ‘पाकेको धान पानीले झरेर पराल मात्रै बाँकी छ, अब यसबाट के साहूलाई दिने के हामीले खाने ?’

बुर्सेनि धानखेतीमा क्षति भए पनि आफूहरुले अहिलेसम्म राहत र क्षतिपूर्ति नपाएको रजनी डगौँराको गुनासो छ । ‘क्षति भएको धानको विवरण टिपायौँ, क्षतिपूर्ति पाउने आश थियो, तर पाएनौँ,’ उनले भने, ‘किसानको पीडा सरकारले कहिले सुन्ने ?’

जीविकोपार्जनका लागि बेच्न र वर्षभरि खानका लागि खेतमा तयार भएको धानबाली भित्रर्याउन नपाउँदा किसान चिन्तित भएका छन् । केही दिनयताको अविरल वर्षा र त्यसअघि असोज पहिलो साताको बाढीले कञ्चनपुरको बेलौरी, बेलडाँडी, पुनर्वास, दोधाराचाँदनी, लालझाडी गाउँपालिका, भीमदत्त नगरपालिकामा धान बालीमा बढी क्षति भएको छ।

‘पाकेको धान दोदा नदीमा आएको बाढीले खेतमै ढलेको छ, धान कुहिएर पूरै सखाप भएको छ,’ लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायकले भने, ‘धान भित्रायाउन पाएका छैनौँ, कुहिएर खेतमै उम्रिएको छ ।’

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।