काठमाडौं । विश्वमा वैकल्पिक ऊर्जाको रुपमा विकास भइरहेको हाइड्रोजन नेपालमा पनि उत्पादन गर्ने प्रतिबद्धता प्रमुख राजनीतिक दलहरुले गरेका छन् । ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यसै साता सार्वजनिक भएका दलका प्रतिबद्धता तथा घोषणा पत्रमा हाइड्रोजन उत्पादन, नेपालमै हाइड्रोजन प्लानट स्थापना जस्ता विषय समेटिएका छन् ।
नेकपा एमालेले आफ्नो घोषणापत्रमा हाइड्रोजन लागायत सबै प्रकारका ऊर्जाको समिश्रण र ऊर्जा बैंकका माध्यामबाट ऊर्जा सुरक्षाको प्रत्याभूति गरिने उल्लेख छ ।यस्तै नेपाली कांग्रेसले जलस्रोतको बहुआयामिक उपयोग गर्दै ग्रीन हाइड्रोजन तथा ग्रीन एमोनियाको उत्पादन तथा बिक्री गर्ने घोषणा गरेको छ । नेपालले आर्थिक उपार्जनका लागि यो ऊर्जा प्रयोग गर्ने कांग्रेसको घोषणा पत्रमा भनिएको छ ।
नेकपा माओवादी केन्द्रले अन्य दलहरुले भन्दा एक कदम अघि बढेर नेपालमा आगामी ५ वर्षमा हाइड्रोजन उत्पादन प्लान्ट नै स्थापना गर्ने घोषणा गरेको छ । ‘विश्वमा बढ्दो ऊर्जा सङ्कटलाई मध्यनजर गर्दै आवश्यक नीति र संस्थागत संरचना विकास गरी सरकारले ५ वर्षभित्र हाइड्रोजन प्लान्ट स्थापना गर्ने छ’ माओवादीले आफ्नो घोषणापत्रमा भनेको छ ।
विज्ञ तथा सरोकारवालाहरुका अनुसार जलश्रोत र अन्य सम्भाव्यताका आधारमा नेपाल हरित हाइड्रोजन हब बन्न सक्ने भन्दै यसको उत्पादन र निर्यातबाट मुलुकले ठूलो आर्थिक र सामरिक लाभ लिन सक्ने औल्याएका थिए ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।