१५ पुस, काठमाडौं । साउदी अरेबियामा कार्यरत मकवानपुरका जितेन्द्र आलेलाई घरमा एकपटक पैसा पठाउन ३ महिनासम्म रकमको जोहो गर्नुपर्छ ।
बल्लतल्ल जम्मा भएको ५० हजार पठाउँदा १ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ । ‘यहाँबाट पैसा पठाउँदा शुल्क साह्रै महँगो छ,’ उनी भन्छन्, ‘यही कारण मेरा धेरैजसो साथि हुन्डीवाला समात्छन् ।’
यो समस्या साउदीका नेपाली श्रमिकलाई मात्र छैन, सबैजसो श्रम गन्तव्य मुलुकबाट नेपालमा रेमिट्यान्स पठाउनेले तिर्नुपर्ने शुल्क महँगो छ । रेमिट्यान्स कम्पनी, बैंक र उनीहरुका एजेन्टले लिने कमिसनसहित सम्बन्धित देशको नीतिका कारण रेमिट्यान्स आप्रवाहको लागत महँगिएको छ ।
अमेरिकी र युरोपेली देशबाट भित्रिने रेमिट्यान्समा १० प्रतिशतसम्म सेवा शुल्क लाग्ने गर्दा धेरैले असुरक्षित हुन्डीको सहारा लिने गरेका छन् । यसबारे सरकारलाई जानकारी नभएको हैन, तर समाधानको पहल नहुँदा रेमिट्यान्सको अवैध आप्रवाह फस्टाएको छ ।
रेमिट्यान्सको आयात महँगो भएका कारण नै अवैध कारोबार, न्युनबिजकीकरण र लगानी गर्ने गिरोहले धेरै श्रमिकको पैसा हुन्डी गर्न पाएका छन् । यस्ता समूहको चक्करमा परेर श्रमिकहरु ठगिने गरेका छन् । सुन किनेर विदेशबाट फर्किने श्रमिकको संख्या पनि बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो चार महिना ९साउन(कात्तिक०मा वैधानिक च्यानलबाट रेमिट्यान्स आप्रवाह ७।५ प्रतिशत घटेर ३१२ अर्ब ४२ करोड रुपैयाँमा झरेको छ । यसरी रेमिट्यान्स घट्नुमा हुन्डीलाई प्रमुख कारण मानिएको छ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।