बर्दिया । अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिब ८ सय घर डुबानमा परेका छन् । सोमवार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका केही गाउँहरु डुबानमा परेका हुन् ।
स्थानीयका अनुसार डुबानमा परेर धेरैजसो धनको क्षति दौलतपुर गाविसमा भएको छ । अहिले स्थानीय सरकार र जिल्ला प्रहरी कार्यालयको सहयोगमा उद्धारको काम भइरहेको स्थानीयहरुले बताए ।
कर्णालीको पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको स्थानीयहरुको भनाइ छ । स्थानीय टीकाराम जोशीले बाढीका कारण घर डुबानमा पर्दा परिवार कहाँ छन् भन्नेकुरा पनि थाहा पाउन नसकेको गुनासो गरे ।
उनले कर्णालीको पानीको बहाव कम हुने छाँटकाँट नदेखिएकाले कसरी बाच्ने भन्ने समस्या भएको बताए । त्यस्तै बर्दिया जिल्लाकै राजापुर नगरपालिका वडा नम्बर १, दौलतपुरका स्थानीय लोकराज ढुंगानाले बाढी सोमबार बेलुकादेखि गाउँ पसेको र बाढीका कारण लगभग ८ सय घरहरु डुबानमा परेको बताए । उनले नदीमा पानीको बहाव बढीरहेकाले झनै समस्या थपिएको गुनासो गरे।
अन्य स्थानीहरु भने अहिलेको सरकारले बस्ती नै डुबानमा पर्दासमेत उद्धार र राहत नदिएको भन्दै आक्रोशित छन् । गत सालको बाढीका कारण पनि गाउँ डुबानमा परेको तर सरकारले कुनै राहत नदिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई यस वर्षको निर्वाचनमा पश्चिमका जनताले परास्त गर्ने स्थानीयहरु बताउँछन् ।
उनीहरु गाउँ डुबानमा पर्दासमेत उद्धार कार्य नगरेको, गत सालको राहत अहिलेसम्म नपाएको भन्दै कर्णाली नजिकका बाढीग्रस्त क्षेत्रका जनतालाई सरकारले उचित र दीर्घकालीन व्यवस्थापन गर्न आवश्यक भएको बताउँछन् ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।