धनकुटा । जिल्लाको सयपत्री(थुङ्गे) फूलको पकेट क्षेत्र लाँकुरे, स्याउले र सिप्तेन क्षेत्रमा तिहार लक्षित फूल नफूलेपछि यहाँका किसान समस्यामा परेका छन् । धनकुटा नगरपालिका–३ मा एक सयभन्दा बढी किसानले तिहार लक्षित फूल खेती गर्दै आएका छन् ।
यस क्षेत्रबाट हरेक वर्ष तिहारको समयमा ५० लाख रुपैयाँभन्दा बढीको सयपत्री फूल जिल्ला बाहिर जाने गरेकोमा यस बर्ष समयमा फूल नफुल्दा किसानहरु मारमा परेका वडा अध्यक्ष विकास घिमिरेले जानकारी दिए । किसानहरुको फूल खेतीमा लगानी र व्यापार राम्रो भएकाले २०७५ सालमा वडाले विशेष अनुदानको व्यवस्था गरेर उन्नत जातको फूल खेती कार्यक्रम सुरु गरेको अध्यक्ष घिमिरेले जानकारी दिए ।
अध्यक्ष घिमिरेका अनुसार गाउँमा फूल राम्रो उत्पादन भए पनि भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसकेपछि पुनः किसान पारम्परिक खेतीमा फर्किएका थिए । किसानले गाउँभरी लगाएका फूल समसमै नफूल्दा समस्यामा परेको लाँकुरे गाउँका २५ वर्षीय नवीन मल्लले जानकारी दिए । गतवर्ष पाँच रोपनीमा फूल लगाएर एक लाख ५० हजारमा बेचेका मल्लले यो वर्ष चार रोपनीमा लगाएको फूल भर्खर मात्र फूल्न थालेका छन् । मल्लको जस्तै उक्त गाउँमा ५० भन्दा बढी किसानले लगाएको सयपत्री फूल नफूलेपछि तिहारमा फूल अभाव हुने देखिएको उनले बताए ।
‘जम्मा तिहारमा लक्ष्मी पूजाको एक दिन फूल व्यापार हुन्छ । यो फूल तिहारमा बेच्नेगरी नफुल्ने भो । अब सबै उखालेर फ्याँक्नुपर्ला’, मल्लले भने । मल्लको जस्तै सिलिङ्ग्वा टोलका ५३ वर्षीय राजकुमार राईले चार रोपनीमध्ये दुई रोपनीमा लगाएको सयपत्री फुलेको छैन । अगाडि लगाएको फूल अधिक वर्षाको कारण बिग्रिएको र पछि रोपेको फूल फूलेको छैन । ‘अब काटेर बाख्रालाई घाँस खुवाउने’, राईले भने ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।