धनुषाको मिथिला नगरपालिकामा करारका कर्मचारी हटाइएको विषयमा सुरू भएको विवाद बढ्दै गएको छ।
अघिल्लो नगर प्रमुखको कार्यकालमा नियुक्त भएका १४० मध्ये जनगुनासो बढेको भन्दै ९ जना करारका कर्मचारीको म्याद गत असारबाट नथप्ने नगर प्रमुख महेन्द्र महतोको एकल निर्णयको उपप्रमुखसहित नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) का कार्यपालिका सदस्यले विरोध गर्दै आएका छन्।
सो विवादका कारण नगरपालिका कार्यापालिकाको बैठकले सार्थकता नपाएको नगर प्रमुख महतोले बताए।
‘बैठक दुई/तीन घन्टा बस्छ तर उहाँहरूले हटाएका कर्मचारी पुनर्बहाली गर्ने निर्णय नभएसम्म अर्को कुनै एजेण्डामा छलफल वा निर्णय गर्न दिन्नौं भन्नुहुन्छ,’ उनले भने, ‘उहाँहरूको बलमिच्याइँले विकास निर्माणको काम प्रभावित भएको छ। नगरपालिका कार्यालयको भवन निर्माण गर्न जग्गा प्राप्तिका लागि कार्यापालिका बैठकले निर्णय गर्नुपर्थ्यो त्यो हुन सकेको छैन। सामुदायिक कलेजको योजना कार्यान्वयन गनुपर्ने हो त्यो पनि हुन सकेन।’
कार्यपालिका बैठक नहुँदा स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवा सञ्चालनसमेत हुन नसकेको उनको दाबी छ।
नगरपालिकाको २१ सदस्यीय कार्यपालिकामा एमालेका १०, कांग्रेसका ५ र एकीकृत समाजवादीका ६ जना छन्। कार्यपालिका सदस्य जोगी महतोका अनुसार उपप्रमुख सुनिता सिंह बुढाथोकीले आफ्नो अध्यक्षतामा कार्यपालिकाको बैठक राखी हटाइएका कर्मचारीको फेरि म्याद थप गर्ने निर्णय गरिएपछि विवाद थप बढेको छ। विकासका लागि नभई बहुमतको आडमा उपमेयर पक्षले एकलौटी गर्न खोजेपछि विवाद बढेको उनको भनाइ छ।
‘मेयरको अनुपस्थितिमा उपमेयरको अध्यक्षतामा बैठक बसेर साउन ४ गते १६ जना कार्यपालिका सदस्यको सहभागितामा ती कर्मचरीको पुनर्बहाली गरिसकेको निर्णय गरिएको सुन्नमा आएको छ। त्यसै निर्णयका आधारमा उपमेयरको सचिवालयले ती कर्मचारीलाई हाजिर गराइरहेको बुझिएको छ,’ कार्यपालिका सदस्य महतोले भने, ‘कानुनी रूपमा मेयरसहित कांग्रेसका कार्यपालिका सदस्यलाई बैठकमा नबोलाई गरेको निर्णय कानुनी रूपले कति मान्य हुन्छ थाहा भएन। ती कर्मचारीले दुई दिन कार्यालय पुगेर हप्ताभरिको हाजिर गरेको पनि पाइएको छ।’
उनका अनुसार यही विवादका कारण गत भदौ १० गतेयता कार्यपालिका बैठकबाट केही निर्णय हुन सकेको छैन। बहुमतको दम्भ देखाएर एमाले र एकीकृत समाजवादी पार्टीले विकास निर्माणको काममा अवरोध गर्न खोजेको नगर प्रमुख महतोको आरोप छ। तर बैठक बस्ने वातावरण नभएकाले आफूहरूले अवरोध गरेको उपप्रमुख बुढाथोकीको भनाइ छ।
‘उहाँहरूले निकाल्नुभएको कर्मचारीलाई राखौं हामीले भनेका छौं। कति कर्मचारी आवश्यक छन कति हटाउनुपर्ने हो कार्यपालिकाबाट निर्णय गरौं भन्ने हाम्रो माग हो। तर मेयर साबले हटाउने मेरो अधिकार हो भन्नुभयो,’ उनले भनिन, ‘हामीले यो एजेण्डा कार्यपालिका बैठकमा ल्याउन भन्दा उहाँले मान्नुभएन। कुन कर्मचारीले कसरी कहाँनेर गल्ती गरे, काम गरेन भनेर कुन वडाध्यक्षले गुनासो गरे त्यो पनि भन्नुभएन।’
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।