मुख छाडेको निहुमा बालकको हत्या – Mero Samachar

मुख छाडेको निहुमा बालकको हत्या

मुख छाडेको निहुमा बालकको हत्या class=

विराटनगर । मोरङको उर्लाबारीमा १४ वर्षीय बालकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । आइतबार राति दमक नगरपालिका-१० आमवाडीका १४ वर्षीय दियुश श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ परेका पाँच जना १८ वर्षमिनका किशोर छन् । पक्राउ परेकाहरुले पूर्व रिसइसवी र मेलामा मुख छाडेको निहुँमा छुरा प्रहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

मोरङ र झापाको सीमा भएर बग्ने मावा खोलाको उर्लाबारी नगरपालिका वडा– ७ खण्डमा लागेको छठ मेलामा श्रेष्ठमाथि छुरा प्रहार भएको थियो । छुरा प्रहार भएपछि घाइते भएका उनलाई गोदावरी अस्पताल उर्लाबारीमा भर्ना गरिएको थियो । तर उपचार सम्भव नभएपछि बीएण्डसी अस्पताल विर्तामोड पठाइएको थियो । विर्तामोडमा उपचारको क्रममा सोमबार विहान करिब ५ बजे चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रहरीका अनुसार श्रेष्ठको कोखमुनि छुरा प्रहार भएको थियो । ‘यिनीहरुबीच पुरानै चिनजान देखिन्छ, मेलामा भनाभन भएपछि छुरा प्रहार भयो,’ प्रहरी स्रोतले भन्यो, ‘अलिक अगाडि मुख छाडेको रिस पनि देखिन्छ ।’ घटनामा ८ जनाको संलग्नता देखिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार आक्रमण गर्ने समूहमा ७–८ जना थिए । श्रेष्ठ भने तीन जना साथीसँग मेलामा आएका थिए । मेलामा भेट भएपछि दुई समूहबीच भनाभनपछि कुटाकुट भएको थियो । सोही क्रममा ७–८ जनाको समूहले श्रेष्ठलाई छुरा प्रहार गरेको थियो ।

छुरा प्रहारपछि आक्रमणकारी समूह फरार भएको थियो । फरार भएकामध्ये पाँच जना सोमबार दिउँसो पक्राउ परेका हुन् । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।