काठमाडौं । नेपालमा शुक्रबार पाँचवटा फिल्म रिलिज हुँदैछन् । नेपालको ‘हिजोआजका कुरा’, भारतका ‘डाक्टर जी’, ‘गडफादर’ र ‘कन्तारा’ तथा जापानको ‘वान पिस रेड’ प्रदर्शन हुनेछन् ।
एकैदिन पाँच फिल्म रिलिज हुँदा दर्शकलाई रुचिअनुसार हेर्ने विकल्प खुला भए पनि बक्स अफिसमा भने दबाब पर्नेछ । शो र दर्शक बाँडिंदा रिलिज हुन लागेको नयाँ नेपाली फिल्मलाई पक्कै चुनौती खडा हुनेछ । त्यति मात्र होइन, अहिले हलमा राम्रो प्रदर्शन गरिरहेको ‘दुई नम्बरी’ र चल्दै गरेको ‘प्रेमगीत ३’लाई थप चुनौती हुनेछ ।
टेलिभिजनमा ‘हिजोआजका कुरा’ हेरेर हुर्किएको नेपाली दर्शकको जमातलाई फिल्म हिजोआजका कुरा रुचिकर हुनसक्छ । तर ‘मास’ दर्शकलाई यसले कत्तिको अपील गर्न सक्ला भन्ने कुरा चाहिं फिल्मको वर्ड अफ माउथमा निर्भर हुनेछ । समीक्षकबाट सकारात्मक समीक्षा प्राप्त गरेको दक्षिण भारतीय फिल्म ‘कन्तारा’लाई ‘केजीएफ २’ का निर्माताले निर्माण गरेका हुन् । विश्वभर नै शुक्रबार लाग्न लागेको कन्तारा साउथ फिल्म रुचाउने र केजीएफका फ्यानलाई रुचिकर हुनसक्छ ।
सलमान खान र चिरञ्जीवी स्टारर फिल्म ‘गडफादर’ भारतमा गत साता नै रिलिज भएपनि एप्पल इन्टरटेनमेन्टले नेपालमा भने भोलि (शुक्रबार)देखि रिलिज गर्दैछ । भारतीय बक्स अफिसमा यसले औसत कमाइ गरिरहेको छ । आयुष्मान खुराना स्टारर कमेडी ड्रामा ‘डाक्टर जी’लाई लिएर पनि दर्शकमाझ पर्खाइ छ । विषयगत फिल्म हेर्न रुचाउने गम्भीर दर्शकदेखि कमेडी रुचाउने दुवैथरी दर्शकलाई यसले आकर्षित गर्न सक्छ । यसले पुरुष गाइनोक्लोजिस्टको कथा भन्छ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।