भक्तपुरमा तयार हुँदैछ तिहारको पाला – Mero Samachar

भक्तपुरमा तयार हुँदैछ तिहारको पाला

भक्तपुरमा तयार हुँदैछ तिहारको पाला class=

भक्तपुर । नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । बजारमा तिहारका लागि आवश्यक पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने, पोलेर पूरा तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ । ‘तिहार आउन अझै दुई साता बाँकी छ । मागअनुसारको पाला एक हप्ताभित्र पठाउनुपर्छ’, भक्तपुर तालाक्वका गङ्गालक्ष्मी प्रजापतिले भने।

तिहार नजिकिएसँगै तालक्वका कुमाले समुदायको दिनचर्या नै पाला तयार गर्नेमै बित्ने गरेको गङ्गालक्ष्मी बताउँछिन् । तिहारमा पालाको माग अत्यधिकमात्रामा उच्च हुने भएकाले यो समय कुमालेले अन्य भाँडा बनाउने कामलाई थाँती राखेका छन् । तिहारमा लक्ष्मी पूजाका लागि बाहिरी जिल्लाबाट माग आउने भएकाले अन्य भाँडा बनाउने कामलाई थाती राखेको गङ्गालक्ष्मीले बताइन् ।

‘बिहान ५ बजेदेखि अघिल्लो दिन नै तयार गरी राखेको माटोले पाला बनाउने, सुकाउने, रातो माटोको रङ लगाउने र सुकिसकेको पालालाई पोलेर तयार गरी मागअनुसार बजार पठाउने काममा दिन बित्छ । अहिले अन्य भाँडाकुँडा बनाउने समय छैन’, गङ्गालक्ष्मीले भनिन् ।

अहिले भक्तपुरका तालक्वका प्रजापति मात्र होइन सुजमारी, लिवाली, तुमुचो, च्याम्हासिंह, सूर्यविनायक र चुनदेवीका कुमालेसमेत अन्य भाँडा बनाउने कार्यलाई थाती राख्दै पाला बनाउने कार्यमा तल्लीन छन् ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।