१० असोज २०७८
(Sunday 26 September, 2021)

बुटवल, भदौ १६

बुटवल उपमहानगरपालिकाले ई–रिक्साको व्यवस्थापन गर्न संख्या तोक्ने भएको छ । बुटवलमा दर्ता भएका १ हजार १८ वटा मात्रै विद्युतीय ई-रिक्सा सञ्चालन हुन पाउने छन् । उपमहानगरले ई–रिक्साको ब्लूबुक तयार पार्ने र इजाजतका लागि अरु नियामक निकायमा सिफारिस गर्ने जनाएको छ । बुटवल उपमहानगरले विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि– २०७६ बनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (ट) को खण्ड ४ को अधिकार कार्यान्वयन गर्न र सोही ऐनको दफा ११ को उपदफा ४ (ट) बमोजिम नगर क्षेत्रमा चल्ने विद्युतीय रिक्साको दर्ता, अनुमतिका काम अगाडि बढाइएको उपमहानगरले जनाएको छ ।

ई–रिक्सामा पहिचान र दर्ता भएको प्रमाण झल्किने बुटवल उपमहानगरको स्टिकर टाँस गरिएको छ । उपप्रमुख तथा समितिका संयोजक गोमादेवी आचार्यले प्रक्रियागत रूपमा दर्ता भएका बाहेकका र अन्यत्र दर्ता भएका  सवारीलाई सञ्चालन गर्न नदिने बताइन् ।

दर्ता अनुमति भई रुट इजाजत प्राप्त रिक्साहरूको आयु कार्यविधि बमोजिम रुट इजाजत प्राप्त भएका मितिले पाँच वर्षको मात्र हुनेछ । अवधि पुगेपछि उक्त रिक्सा, रिक्सा धनी स्वयंले नष्ट गर्नु पर्ने कार्यविधिमा उल्लेख छ ।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *