गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा ५१ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । हाल नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरुले सो बराबरको रकम बीमालेख धितोमा कर्जा प्रवाह गरेका हुन् ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले १९ अर्ब ५४ करोड ६३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । एलआईसी नेपालले १४ अर्ब १५ करोड २७ लाख, नेशनल लाइफले ६ अर्ब १८ करोड २४ लाख, एशियन लाइफले २ अर्ब ९६ करोड ९५ लाख रुपैया बीमालेख धितोमा ऋण परिचालन गरेका छन् ।
यस्तै प्राइम लाइफ, राष्ट्रिय बीमा संस्थान, सूर्या लाइफ, गुराँस लाइफ इन्स्योरेन्सले पनि एक अर्ब बढी बीमालेख धितोमा लगानी गरेका छन ।
बाँकी कुनैपनि कम्पनीले एक अर्ब रुपैयाँ भन्दा बढी बीमालेख धितोमा कर्जा लगानी गरेको छैन ।
मेट लाइफ इन्स्योरेन्सले ९८ करोड ८३ लाख र युनियन लाइफले ८२ करोड ७३ लाख रुपैयाँ लगानी गरेका छन । सबै भन्दा कम सानिमा लाइफले ३ करोड २९ लाख रुपैयाँ बीमालेख धितोमा कर्जा लगानी गरेको हो ।
बीमालेख धितोबाट ४ अर्ब ७४ करोड आम्दानी
जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बीमालेख धितोबाट ४ अर्ब ७४ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेका छन । जसमध्ये सबैभन्दा धेरै नेपाल लाइफले एक अर्ब ८३ करोड ३३ लाख रुपैयाँ आम्दानी गरेको छ ।
एलआइसी नेपालले एक अर्ब ४३ करोड ८८ लाख रुपैयाँ र नेशनल लाइफले ४९ करोड ४६ लाख रुपैयाँ बीमालेख धितोमा कर्जा लगानी गरि आम्दानी गरेका छन् ।
यस्तै एशियन लाइफले २२ करोड ३६ लाख, प्राइम लाइफले १३ करोड ६३ लाख रुपैयाँ मेट लाइफले ११ करोड ६९ लाख रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले ११ करोड ५ लाख रुपैयाँ र सूर्या लाइफले १० करोड ८ लाख रुपैयाँ बीमालेख धितोमा कर्जा लगानी गरी आम्दानी गरेका छन । सबै भन्दा कम भने रिलायवल नेपालले ७९ हजार रुपैयाँ आम्दानी गरेको छ ।
यस्तै प्रभु लाइफ र सानिमा लाइफले बीमालेख धितोमा लगानी गरेपनि आम्दानीको विवरण भने सार्वनिक गरेको छैन । प्रभु लाइफले यस अवधिमा ३७ करोड ४४ लाख रुपैयाँ र सानिमा लाइफले ३ करोड २९ लाख रुपैयाँ लगानी गरेको भएपनि अहिले सम्म व्याज आम्दानी भने गरेको छैन ।
बीमालेख धितो राखेर कर्जा कसरी लिने ?
बीमालेख धितोमा बीमा गरेको दुई वर्षपछि मात्रै ऋण लिन सकिने व्यवस्था छ । बीमालेख धितो अन्तर्गत समर्पण मूल्य र बीमालेख धितोमा कर्जा दिंदा दुईवर्ष पुरा भएको हुनुपर्दछ । तर एकल बीमालेखको हकमा भने बीमालेख जारी भएको एक वर्षपछि ऋण तथा समर्पण मूल्य प्रदान गर्न सकिनेछ ।
यस शीर्षकमा बीमितले बीमालेख बाहेक अन्य कुनै प्रकारको चल, अचल सम्पत्ती धितो नराखी ऋण प्राप्त गर्न सकिन्छ ।
बीमा कम्पनीबाट लिएको ऋण नतिरेसम्म बीमितलाई बीमा पोलिसी भने त्याग (सरेन्डर) गर्न छुट भने हुँदैन । बीमा पोलिसी भने त्याग गर्नका लागि बीमा कम्पनीको लागि लिएको सम्पूर्ण कर्जा भुक्तानी हुनपर्छ ।
बीमा समितिले तोकेको प्रवाधान अनुसार बीमितले तिरेको बीमा शुल्कको अधिकतम ९० प्रतिशतसम्म ऋण प्राप्त गर्न सकिन्छ । त्यस अनुसार बीमा कम्पनीलाई तिरेको बीमा शुल्कका आधारमा बीमितले कति बीमाशुल्क भुक्तानी गरेको छ सोही अनुसारको ऋण प्राप्त गर्न सकिने प्रावधान छ ।
यस्तो कर्जामा बीमा कम्पनीहरुले नै ब्याजदर निर्धारण गर्ने गरेको पाइन्छ । सामान्यतया ९ देखि १२ प्रतिशतसम्ममा कर्जा प्रवाह हुँदै आएको पाइन्छ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।