बाँसघारीको बीचमा साढे २ करोड लगानीमा खुलेको ‘लभी गार्डेन’ – Mero Samachar

बाँसघारीको बीचमा साढे २ करोड लगानीमा खुलेको ‘लभी गार्डेन’

बाँसघारीको बीचमा साढे २ करोड लगानीमा खुलेको ‘लभी गार्डेन’ class=

सहरको दैनिक व्यस्तताबाट कहिलेकाहीँ प्रकृतिमा रमाउने इच्छा हुन्छ। अझ परिवार, आफन्त, साथीसंगीसँग बसेर मीठा परिकार खाँदै बस्न पाए! घर-बजारले साँघुरो भइसकेको काठमाडौंमा नजिकै हरियाली, खानपिन र मनोरञ्जन गर्ने भेट्ने पो कता होला!

यस्तै सोच्दै हुनुहुन्छ भने तपाईंको गन्तव्य हुन सक्छ बौद्धको ‘लभी गार्डेन।’

चाबहिल चुच्चेपाटीबाट महांकाल हुँदै करिब दुई किलोमिटर पार गरेपछि सडकको बायाँतर्फ छ लभी गार्डेन। यसकै दायाँतिर छ ‘लभी रेसिडेन्स’।

खाने र बास बस्ने सुविधा भएको लभीमा हरियालीले पाहुनाको स्वागत गर्छ। बाँसघारी र अरू रूखबिरूवाले घेरिएको बीच भागमा होटल छ। होटलबाहिर आकर्षक बगैंचा छ। बगैंचामै सजाएर टेबलकुर्ची राखिएको छ।

यसैलाई सुदर्शन पौडेलले ‘लभी गार्डेन’ नाम दिएका हुन्।

‘यहाँ पहिले बाँसघारी थियो। बीच भागको बाँस निकालेर चारैतिरबाट बाँसले नै बेरेर टावर बनायौं,’ होटल सञ्चालक सुदर्शनले भने।

उनका अनुसार यो टावर जन्मदिन, बेबी-सावरजस्ता उत्सव मनाउन र पारिवारिकसँगै साथीसंगी जमघटको केन्द्रजस्तै बनेको छ। एकतले टावरबाट काठमाडौंका विभिन्न ठाउँ देख्न सकिन्छ। बगैंचामा चराको चिरबिर सुनिन्छ। लाइभ म्युजिकको व्यवस्था पनि छ। रातको समय बत्तीको झिलिमिलीसँगै संगीतले मनोरञ्जन थपिदिन्छ।

हरेक दिन लभी भरिभराउ हुन्छ, दैनिक दुई सयभन्दा बढी मानिस यहाँ पुग्छन्। शनिबार त हजार हाराहारीमै हुने सुदर्शनले बताए। बगैंचाले मात्र होइन, अर्गानिक खानाको परिकारले पनि पाहुना लोभ्याएको उनी बताउँछन्।

‘लभीको सजावटसँगै यहाँ पाइने परिकार पनि प्राकृतिक छ। अन्तभन्दा फरक स्वादका र अर्गानिक परिकार पस्किन्छौं,’ सुदर्शनले भने, ‘अहिले मलाई लभीलाई सहरका बासिन्दाले पर्खेका रहेछन् भन्ने लागिरहेको छ।’

यहाँको मेनुमा चटपटे, पानीपुरीदेखि बिरयानीसम्मका सयभन्दा धेरै परिकार छन्। सबभन्दा रूचाइएको भने बिरयानी, दूध मलाई केक, पिज्जा र चिकेन हो। यहाँको दूध मलाई केक विशेष भएको उनले बताए।

‘दूध मलाई केक खानकै काठमाडौंबाहिरका समेत पाहुना आउनुहुन्छ,’ उनले सुनाए, ‘कतिपय त बाहिरबाट जहाजमा आएर यही खाएर पनि फर्किनुभएको छ।’

लभीले पस्किने केही परिकारको नाम पनि विशेष छ। ‘चिकेन टकाटक’, ‘चिकेन खानदानी’, ‘चिकेन यमराज’ उदाहरण हुन्।

चिकेन टकाटक पिरो, अमिलो र गुलियो मिसाएर बनाइन्छ। सबैकुरा ट्वाक्क जिब्रोमा झुन्डिने भएकाले नाममा टकाटक जोडेको उनले बताए। त्यस्तै चिकेन खानदानी काजु, मगज, घिउ राखेर बनाइन्छ। चिकेन यमराज भने अकबरे खुर्सानीसँगै विभिन्न मरमसला राखेर बनाइएको हुन्छ। मेनुमा चिकेन यमराजसँगै ‘पिरो छ है’ भनेर लेखिएको छ।

धेरैजसोले लभीमा आएर तीनवटै परिकार खान्छन्। अन्तभन्दा फरक मेनु र स्वाद पस्किन लामो समय लगाएर नाम जुराएको सुदर्शनले बताए।

‘कुनै पनि परिकार हेर्दा राम्रो देखिनुका साथै बासना र स्वाद मिठो हुनुपर्छ,’ सुदर्शन भन्छन्, ‘परिकारको नाम पनि सम्झिने खालको भएपछि होटलले विज्ञापन गर्नै पर्दैन, पाहुना आफैंले गरिदिन्छन्।’

होटलमा नेपाली, इन्डियन र कन्टिनेन्टल खाना पाइन्छ। समयअनुसार परिकार थपघट हुन्छ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।