बस दुर्घटनाले गाउँ शोकमा डुबेपछि पाल्पाको रम्भामा विदा ! – Mero Samachar

बस दुर्घटनाले गाउँ शोकमा डुबेपछि पाल्पाको रम्भामा विदा !

बस दुर्घटनाले गाउँ शोकमा डुबेपछि पाल्पाको रम्भामा विदा ! class=

पाल्पा – बस दुर्घटनाले गाउँ नै शोकमा डुबेपछि पाल्पाको रम्भा गाउँपालिका १ नम्बर वडाले सोमबार वडामा शोक बिदा गरेको छ । एकै गाउँका ४ सहित ५ जनाको ज्यान जाने गरि आइतबार बिहान नवलपुरको बुलिङटारमा भएको बस दुर्घटनामा रम्भा १ हुगीका २५ जना दुर्घटनामा परेका हुन् । साथै हुगीदेखि कालीगण्डकी नदी पारीको छिमेकी गाउँ स्याङ्जा गल्याङका अन्य घाइते छन् भने पाल्पाकै छिमेकी पालिका रामपुर नगरपालिकाका बस चालक र सहचालक दुर्घटनामा घाइते छन् ।

दुर्घटनामा घाइतेको भरतपुरको नारायणी सामुदायिक अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । बसका सहचालक तथा बस धनीका छोराको हाल काठमाडौंमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

गोरखाको मनकामना मन्दिर दर्शनका लागि शनिबार राती गाउँले जम्मा भएर हिडेको ना ६ ख ७५८० नम्बरको बस आइतबार बिहान ३ बजे दुर्घटनामा परेको थियो । ३४ यात्रु सवार बस दुर्घटनाले रम्भा १ हुगीका गाउँ यतिबेला शोकमा डुबेको छ ।

दुर्घटनाले बियोगमा परेको गाउँमा सोमबार शोकबिदा दिने शोक बिदा पत्र निकाल्दै रम्भा १ का वडा अध्यक्ष इश्वरी काफ्लेले जनाउनुभएको छ । गाउँबासी चढेको बस दुर्घटनामा ठुलो क्षति भएको छ । यस दु:खद दुर्घटनाले रम्भा १ वडा शोकमग्न भएको छ, वडाध्यक्ष काफ्लेद्दारा हस्ताक्षरित शोक बिज्ञप्तिमा भनिएको छ-“दुर्घटनामा ज्यान गुमाउने वडाबासी तथा सम्पुर्णप्रति दिवंगत प्रति चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछौ। एवं उपचाररत घाइतेको स्वास्थ्यलाभको कामना गर्दछौ । सोमबार रम्भा १ का सरकारी कार्यालय, गैरसरकारी संघसस्था तथा विद्यालयहरु शोकमा बिदा हुनेछ” पत्रमा भनिएको छ ।

२ बसमा ६५ यात्रु लिएर मनकामना दर्शनका लागि गएको एउटा बस दुर्घटनामा परेको हो । बस रामपुर- गैडाकोट कालीगण्डकी करिडोर सडकखण्डको बुलिङटारमा सडकदेखि करिब १ सय मिटर तल खसेको थियो । बस अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।

दुर्घटनामा रम्भा १ हुगीकी ६२ बर्षकी धनि बि.क., ४१ बर्षका तारा बहादुर बि.क.,१७ बर्षका बिनय बि.क. ५८ बर्षकी देवी गाहा र स्याङजाको गल्याङ नगरपालिका ९ बेलचौरकी ४५ बर्षकी फुलमाया माझी रहेका छन् । मृतकको रामपुर अस्पतालमा पोष्टमार्टमपछि आफन्तीलाई शब बुझाइएको वडा अध्यक्ष काफ्लेले बताउनुभयो । दुर्घटनामा अन्य २९ जना घाइते छन् ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।