बलेवामा धान काट्ने र न्वागी खाने अठारौँ शताब्दीको परम्परा – Mero Samachar

बलेवामा धान काट्ने र न्वागी खाने अठारौँ शताब्दीको परम्परा

बलेवामा धान काट्ने र न्वागी खाने अठारौँ शताब्दीको परम्परा class=

बागलुङको बलेवा क्षेत्रका किसानले खेतमा लगाएको धान काट्ने पहिलो दिन आगामी कात्तिक ४ गतेका लागि तोकिएको छ । बलेवा भूमेकोटअन्तर्गत सबै वडाका खेतमा लगाइएको धान काट्ने समय तोकिएको हो । स्थानीय भाषामा पुली र संस्कृत भाषामा धान्य छेदन भनिने यो परम्परा जिल्लाको बलेवा क्षेत्रका लागि हो । स्थानीय जातको गुडुरा धान काट्न आउँदो कात्तिक ४ गते बिहान ९ बजेलाई शुभ दिन तोकिएको छ ।

पुली लिने भनिने यस दिनलाई यहाँका स्थानीयले एक पर्वकै रूपमा मनाउने गरेका छन् । बागलुङ नगरपालिका–१३ पैयुँपाटाका ज्योतिषी लेखनाथ पौडेल र सुवासचन्द्र पौडेलले ज्योतिषशास्त्रका आधारमा धान काट्ने दिन अर्थात् धान्य छेदनका लागि कात्तिक ४ गते शुभमुहुर्त तोकेका हुन् । अघिल्ला वर्षहरूमा पनि ज्योतिषी पौडेलको नेतृत्वमा एवं अमलाचौरका ज्योतिषी रामकृष्ण पाठक, विष्णुप्रसाद पाठक र विष्णुप्रसाद पौडेलेको परामर्शमा यी दिनहरू तोक्ने गरिन्थ्यो ।

दसैँको महानवमीका दिन बलेवा कोटभैरवस्थित कोटघरमा आयोजना हुने एक विशेष समारोहका बीच पुली लिने र नयाँ धानको चामल प्रयोग गर्ने पहिलो दिन अर्थात् न्वागी खाने दिनसमेत तोक्ने गरिन्छ । कात्तिक १९ गते बिहान ९ बजे नयाँ धानको चामल खाने अर्थात् न्वागी खाने उत्तम समय रहेको पनि सोही दिन तोकिएको छ ।

महानवमीका दिन नवदुर्गाको विशेष पूजाका साथै बलेवा कालभैरवको मन्दिरमा मेलाका लागि जम्मा हुने सर्वसाधारणलाई भैरवस्थानका पण्डित तथा ज्योतिषीले गरेको निर्णय कोटभैरव गुठी व्यवस्थापन समितिले जानकारी गराउने परम्परा छ । यहाँका किसानले आफ्नै खेतमा लगाएको धान काट्न पनि यो १८औँ शताब्दीको सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएका छन् । महानवमीका दिन नयाँ धान काट्ने र न्वागी खाने दिनको शुभ मुहूर्त सार्वजनिक गरिन्छ र बलेवालीहरूले पनि तिनै दिनहरूमा उक्त कार्य गर्ने गर्दछन् ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।