काठमाडौं । सरकारले प्लास्टिकजन्य फूल माला र गुच्छाको आयात, उत्पादन र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । तर, पनि साउन र भदौमा मात्रै नेपालमा ९२ लाख १८ हजार मूल्य बराबरको २८ हजार ६८५ किलो प्लास्टिकका माला नेपाल भित्रिएका छन् । जुन अघिल्लो महिनाको भन्दा १३ हजार २ सय किलोले बढी हो ।
वन तथा वातावरण मन्त्रालयले गत ४ साउनमा वातावरण संरक्षण ऐन अनुसार राजपत्रमा सूचना प्रकाशित गरेर प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण रोक लगाएको थियो । सरकारले प्रतिबन्ध लगाएको पहिलो महिना साउनमा ५६ लाख ७६ हजार रुपैयाँको १५ हजार ४४१ किलो यस्ता माला नेपाल भित्रिएको थियो । भन्सारका कर्मचारीको मिलोमतोमा प्रतबन्धित प्लास्टिकका फूलहरु निर्वाद रुपमा नेपाल भित्रिने गरेको नेपाली पुष्प व्यपारीहरुको आरोप छ । व्यापारीसँगको मिलोमतोमा भन्सार कार्यालयहरुले कृत्रिम फूलको अवैध आयातलाई वैध बनाएको नेपाली पुष्प व्यपारीहरु बताउँछन् ।
फूल आयात भएकोबारे भन्सार विभागले भने अनविज्ञता प्रकट गरेको छ । राजपत्रको सूचना र भन्सार कार्यालयहरु बीच सूचना समन्वय नहुँदा यस्तो भएको हुनसक्ने भन्दै यसबारे थप बुझ्ने विभागका सूचना अधिकारी पुण्यबिक्रम खड्काले बताए । आयात प्रतिबन्ध अघि नै एलसी खुलेको हकमा भने नाकामा आएको सामान जाँच पास भएको हुनसक्ने उनको अनुमान छ । तर, राजपत्रले आयात अनुमति पाएका वा बैकिङ प्रणाली पूरा गरेको विषयमा केही बोलेको छैन ।
जानकारहरु यो भनेको राजपत्र जारी भएको दिनदेखि नै भन्सारले यी वस्तुको आयात जाँच पास गर्नै हुँदैन । यदी जाँच पास गरेर आयात हुन दिने हो भने राजपत्रमा छुट्टै सूचना प्रकाशित गर्नुपर्छ ।नेपाली फूल व्यपारीलाई नोक्सान हुने र वातावरण पनि संरक्षण हुनेगरी सरकारले लागू गरेको कानुन सरकारी निकायबाटै नमान्नु दुःखद् भएको नेपाल फ्लोरिकल्चर एसोसिएसनका कार्यक्रम संयोजक जेबी तामाङ बताउँछन् ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।