प्रदेश १ मा कोरोना सङ्क्रमण दर उकालो लाग्दै, अस्पताल भर्ना हुने बढे – Mero Samachar

प्रदेश १ मा कोरोना सङ्क्रमण दर उकालो लाग्दै, अस्पताल भर्ना हुने बढे

प्रदेश १ मा कोरोना सङ्क्रमण दर उकालो लाग्दै, अस्पताल भर्ना हुने बढे class=

पछिल्ला केही दिन यता मुलुकभर कोरोना सङ्क्रमणको दर बढेसँगै प्रदेश १ मा पनि सक्रिय सङ्क्रमण दर उकालो लागेको छ । पछिल्लो एक साताको अवधिमा ११७ सक्रिय सङ्क्रमित रहेकोमा यो दर बढेर शनिबारसम्म आइपुग्दा १९२ पुगेको छ ।

सङ्क्रमितको दर बिस्तारै बढेसँगै अस्पताल भर्ना हुने सङ्क्रमितको दर पनि बढेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

 

प्रदेश १ मा अति नै न्यून सङ्ख्यामा पीसीआर परीक्षण हुँदै आएकाले पनि सङ्क्रमितको सङ्ख्या थोरै देखिएको छ। शनिवार प्रदेश भरी जम्मा १ सय ६८ जनाको मात्र पीसीआर परीक्षण गरिएकोमा ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश सरकारले यसअघि दैनिक १ सयको हाराहारीमा मात्र पीसीआर परीक्षण गदै आएको थियो ।

 

सामाजिक विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पोखरेलले शनिवार प्रदेश भरी पीसीआर परीक्षण गर्दा प्रदेशमा पनि बिस्तारै सङ्क्रमितको दरको ग्राफ बिस्तारै बढेको देखाएको बताए । पोखरेलका अनुसार विशेष गरी मुख्यतया सघन सहरी क्षेत्र विराटनगर, धरान, इटहरी, झापाको बिर्तामोड लगायतका क्षेत्रमा क्रमशः कोरोना सङ्क्रमणको दर बढेको देखाएको छ ।

 

उनले अहिले मेची प्रादेशिक अस्पताल विराटनगरको कोशी अस्पताल र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पीसीआर परीक्षण हुँदै आएको बताए। त्यसै गरी पूर्वी नेपालका प्रमुख दुई नाका काँकडभिट्टा र विराटनगरको रानी नाकामा एन्टिजेन परीक्षण गर्ने काम हुँदै आएको बताए ।

 

कोरोना सङ्क्रमणको दर बढेसँगै प्रदेशमा रहेको अस्पतालहरूमा उपचारका लागि भर्ना हुने क्रम पनि बिस्तारै बढेको छ । प्रदेशका रहेका मेची प्रादेशिक अस्पताल, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी कोभिड १९ उपचार केन्द्रमा बिरामीहरू भर्ना हुने क्रम बढेको छ ।

 

सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार हाल यी अस्पतालमा १२ जना सङ्क्रमित उपचारका लागि भर्ना भएका छन् । अस्पताल भर्ना भएका मध्ये सात जना आईसीयूमा उपचाररत छन् भने तीन जना भेन्टिलेटर दुई जना एचडीयूमा उपचाररत छन् ।

 

मन्त्रालयको गएको पुस १९ गतेको तथ्याङ्क अनुसार कुल १ सय १७ सङ्क्रमित मध्ये ८ जना मात्र अस्पतालमा उपचाररत थिए । जसमा आइसियुमा दुई, भेन्टिलेटरमा तिन र एचडीयूमा तीन जना उपचाररत थिए । तर पछिल्ला एक सातामा अस्पताल भर्ना हुने क्रम बढेसँगै यो सङ्ख्या १२ पुगेको मन्त्रालयले जनाएको छ । अन्य सङ्क्रमित १८१ जना होम आइसोलेशनमा रहेका छन् ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।