२७ पुस, पोखरा । पोखरा उपत्यकामा आजदेखि जलपक्षी गणना शुरु भएको छ । सन् १९८७ देखि वर्षेनि नियमित रूपमा गरिंदै आएको जलपक्षी गणना कार्यक्रम आजदेखि पोखरा उपत्यकामा रहेका तालहरुबाट शुरु गरिएको हो ।
सन् २००४ बाट पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको छ । यो गणना भोलिसम्म जारी रहनेछ ।
प्रत्येक वर्ष अङ्ग्रेजी महीना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तामा गरिने उक्त गणना कार्यक्रममा स्वयंसेवी पक्षी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षण संघसंस्थाको सहभागिता हुने गर्दछ ।
सिमसारमा आश्रित पानीचराहरूको अवस्था पत्ता लगाउन, संख्या अध्यावधिक गर्न, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष नेपालभर जलपक्षीहरूको अनुगमन र गणना गर्ने गरिन्छ ।
यस वर्ष पनि पुस १७ देखि माघ ५ ९जनवरी १ देखि १९० सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी ताल तलैया र नदीका भागहरूमा जलपक्षीहरूको गणना गरिने पोखरा पक्षी समाजका अध्यक्ष तथा गणनाका क्षेत्रीय प्रतिनिधि मनशान्त घिमिरेले जानकारी दिए ।
दक्षिण एशियामै पहिलो पटक वन्यजन्तु पर्यटन भित्र्याउने पायोनियर कम्पनी टाइगर टप्सको चेन होटल टाइगर माउण्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनको अगुवाइमा सन् २००४ देखि पोखरा उपत्यकामा शुरु गरिएको पानीचरा गणना पोखरामा रहेका केही पथप्रदर्शकहरु, नेपाल पक्षी संरक्षण संघ पोखरा र पछिल्लो समयमा पोखरा पक्षी समाजको संलग्नतामा गर्दै आएको छ ।
पहिलो दिन विजयपुर खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, मैदी ताल, बेगनास र रुपा तालमा र दोस्रो दिन फेवातालमा जलपक्षी गणना कार्यक्रम गरिने टाइगर माउण्टेन पोखरा लजका नेचुरलिस्ट झलक चौधरीले जानकारी दिए ।
यस वर्ष टाइगर माउण्टेन पोखरा लज, पोखरा पक्षी समाज, हिमालयन डटर्स बर्ड क्लब, नेपाल पक्षी संरक्षण संघ पोखरा शाखा, पर्यटन गाइड, संरक्षणकर्मी, पत्रकार, पक्षी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकायहरुको सहभागिता रहने संघका अध्यक्ष घिमिरेले बताए ।
हालसम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका पानीचराको अभिलेख गरिए पनि वर्षैभरि गरिने अध्ययनमा १०२ प्रजातिका पानीचरा देखिएको समाजका अध्यक्ष घिमिरेले जानकारी दिए ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।