पाल्पा – पाल्पाको रामपुर नगरपालिकामा अन्द्रकुणी र गौडान जोड्ने झोलुङ्गे पुल शिलान्यास भएको छ । रामपुर नगरपालिका ४ को अन्द्रकुणी र ५ को गौडान जोड्ने झोलुङ्गे पुलको शिलान्यास लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले गर्नु भएको हो ।
शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य श्रेष्ठले रामपुरको बिकासमा सबै पार्टी मिलेर आ-आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
त्यसैगरी कार्यक्रममा बोल्दै समाजसेवी एव. वरिष्ठ चार्टड एकाउन्टेन्ट निल सारुले गाउँठाउँको विकासको लागि स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वय हुनुपर्ने बताउनुभएको थियो ।
उहाँले रामपुर नगर र कालीगण्डकी उपत्यकाको विकासमा सबै जना लाग्नु पर्ने भन्दै रामपुरलाई नमुना सहरको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
समाजसेवी एव. वरिष्ठ चार्टड एकाउन्टेन्ट निल सारुको पहलमा क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रमबाट रु ४२ लाख ७१ हजार ५५८ रुपैयाँको बजेट विनियोजन भए पश्चात, रामपुर नगरपालिकाको रु ५ लाख ५५ हजार ३०२ रुपैयाँ र रु ८५ हजार ४२१ रुपैयाँको स्थानीय उपभोक्ताहरुको लागत सहभागीतामा पुल निर्माण शुरु हुन लागेको हो ।
कार्यक्रममा रामपुर नगरपालिका ४ का अध्यक्ष राम बहादुर थापा, ५ का अध्यक्ष दुर्गा पोखरेल, वडा सदस्यहरुको साथै स्थानीय उपभोक्ताहरुको सहभागीता रहेको थियो । पुलको निर्माण कार्य सम्पन्न भएपछि चार सयभन्दा बढी घरका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।