मन्दिरमा पुगेर चिच्याएर वर माग्ने परम्परा सुन्दा झट्ट अनौठो लाग्दछ । आफूले मन्दिरमा मागेको वर भरसक अरुले थाहा नपाउन् भनेर मनभित्रैबाट वर मागिने गरिन्छ । पाल्पामा भने सबैले सुन्ने गरी चिच्याएर वर माग्ने मेला लाग्दैछ ।
पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा यही कात्तिक १८ देखि २२ गतेसम्म मेला आयोजना गरिएको छ । हरेक वर्ष यहाँ कात्तिक पूर्णिमाका बेला तीन दिन मेला लाग्दै आइरहेको छ भने यसवर्ष दुई दिन थप गरेर पाँच दिनसम्म मेला लाग्ने भएको छ । यो वर्ष राम्रो जोग परेकाले पाँच दिनसम्म मेला सञ्चालन गर्ने तयारी भइरहेको सत्यवती मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए । उनका अनुसार दुई वर्ष कोभिडका कारण चहलपहल नभएको मेला यो वर्ष भव्यरूपमा सञ्चालन गरिनेछ ।
मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीले चिच्याएर वर माग्ने चलन छ । धार्मिक पर्यटकीय स्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्यै भएको विश्वासमा चिच्याएर वर माग्ने गरिन्छ । यहाँ बाँसको लिङ्गो लिएर आवाज निकाल्ने गरी चिच्याउँदै वर माग्ने र सत्यवती मन्दिर परिसरको पोखरीमा लिङ्गो गाडेर पूजा गर्ने गरिन्छ । मन्दिरमा प्रायः रातको समयमा पूजा गर्ने प्रचलन छ ।
किंवदन्तीअनुसार एक बज्यै उत्पत्ति भएको र ती बज्यैसँग एक युवाले आफ्नो मनोकाङ्क्षा पूरा गर्ने वर मागे । बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिइन् । ती युवाले घर फर्किए लगत्तै सुनाउँदा उनको मृत्यु भएकोले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको स्थानीयवासी बताउँछन् ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।