१० असोज २०७८
(Sunday 26 September, 2021)

पर्वत, १८ भदौ

अविरल वर्षापछिको पहिरोले पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी शिवराज बुढाथोकीकाअनुसार पहिरोले कुश्मा नगरपालिका ३ का एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीया कौशिला पौडेल, ३५ वर्षीया भवगती पौडेल, १६ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ९ वर्षीय विनोद पौडेल छन् । 

त्यसैगरी पहिरोका कारण घर पुरिँदा कुश्मा नगरपालिका ११ सिल्मीका ३५ वर्षीय दुर्गा पौडेल र ६ वर्षीय गणेश पौडेलको मृत्यु भएको छ । डिएसपी बुढाथोकीकाअनुसार कुश्मा ११ पकुवाकी ७० वर्षीया डल्ली उपाध्याय पौडेल, ४० वर्षीया मायाकुमारी पौडेल र ३ वर्षीय बालक प्रयुष पौडेलको पहिरोका कारण ज्यान गएको छ । 

त्यसैगरी पहिरोले गोठ बगाउँदा पुरिएर मोदी गाउँपालिका ५ आमबोटकी ५० वर्षीया फूलमाया थापाको पनि मृत्यु भएको डिएसपी बुढाथोकीले न्युज कारखानालाई जानकारी दिए । निरन्तरको वर्षाका कारण आएको पहिरोले चारवटा घर पुरिँदा ११ जनाले ज्यान गुमाउनु परेको बुढाथोकी बताउँछन् ।

वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत आमबोटदेखि कुश्मा बजारसम्मको सडक अवरुद्ध छ । यो क्षेत्रमा बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको डिएसपी बुढाथोकीले जानकारी दिए । उनकाअनुसार पहिराले खेतीयोग्य जमिनमा निकै ठूलो क्षति पुगेको छ भने पहिरो पन्छाउन मात्रै दुई साता बढी लाग्ने अनुमान गरिएको छ । 

पहिरोका कारण धौलागिरीका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ सडक, विद्युत र सञ्चार सम्पर्कबाट विच्छेद छन् ।

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *