नेप्सेमा ५६ अंकको वृद्धि, कारोबार रकम अर्ब नाघ्यो – Mero Samachar

नेप्सेमा ५६ अंकको वृद्धि, कारोबार रकम अर्ब नाघ्यो

नेप्सेमा ५६ अंकको वृद्धि, कारोबार रकम अर्ब नाघ्यो class=

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । तिहार र छठका कारण एक साता बन्द भएर सोमबारबाट खुलेको सेयर बजार लगातार दोस्रो दिन पनि वृद्धि भएको छ ।

सोमबार १६ अंक माथिले वृद्धि भएको नेप्से मंगलबार ५६.११ अंक (२.९९ प्रतिशत) ले वृद्धि भएर १९३०.९९ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स ११.२८ अंकले वृद्धि भएर ३८२.१४ अंकमा बन्द भएको छ । बैंकहरुको निक्षेप वृद्धिसँगै तरलता सहज भएर ब्याजदर घट्ने अपेक्षा तथा सूचिकृत कम्पनीले लाभांश घोषणा गरिरहँदा नेप्से सुधारोन्मुख देखिएको हो । ३१ भदौपछि नेप्से १९०० अंक माथि पुगेर बन्द भएको हो ।

सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि उच्च अंकले बढेको छ । वित्त कम्पनी उपसूचक ५.४ प्रतिशत र अन्य उपसूचक ५.२८ प्रतिशतले वृद्धि हुँदा, व्यापार, हाइड्रोपावर र लगानी उपसूचक ४ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेर अर्ब नाघेको छ । मंगलबार नेप्सेमा ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ६ लाख ६५ हजारको कारोबार भएको छ ।

जसमध्ये एनआईसी एशिया बैंकको ६ करोड ६५ लाख ६० हजारको कारोबार भएको छ । त्यस्तै नबिल बैंकको ५ करोड ९२ लाख ७० हजारको कारोबार भएको छ ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।