काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १६.०६ अंक (०.८६ प्रतिशत) ले गिरावट भएर १८५५.१६ अंकमा बन्द भएको छ ।
दशैं बिदापछि आइतबार खुलेको नेप्से ४४ अंकले वृद्धि भएर बन्द भएको थियो । सोमबार २७ अंकले गिरावट भएको नेप्से मंगलबार पनि घटेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.२१ अंकले गिरावट भएर ३६३.६३ अंकमा बन्द भएको छ ।
मंगलबार व्यापार, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसूचकमा सामान्य वृद्धि हुँदा अन्य सबै उपसूचकमा गिरावट भएको छ । यता कारोबार रकम पनि घटेर ५५ करोडमा सीमित भएको छ । आइतबार ८४ करोडको कारोबार भएको बजारमा सोमबार बढेर ९७ करोड पुगेको थियो । तर, मंगलबार १७ लाख ६८ हजार ६९२ कित्ता सेयर किनबेच हुँदा ५५ करोड २८ लाख १० हजारको मात्रै कारोबार भएको छ ।
जसमध्ये नबिल बैंकको सर्वाधिक ३ करोड १० लाख ९ हजारको कारोबार हुँदा नेपाल लाइफको २ करोड ४३ लाख ६८ हजार र हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्य २ करोड १९ लाखको कारोबार भएको छ ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।