नेपालको प्रतिबन्धका बीच कतारले माग्यो घरेलु कामदार – Mero Samachar

नेपालको प्रतिबन्धका बीच कतारले माग्यो घरेलु कामदार

नेपालको प्रतिबन्धका बीच कतारले माग्यो घरेलु कामदार class=

कतार सरकारले घरेलु कामदारका लागि आवेदन आह्वान गरेको छ । कतारको मिनिस्ट्री अफ इन्टेरियर (आन्तरिक मन्त्रालय) ले एक सूचना जारी गर्दै नेपाली घरेलु कामदारका लागि आवेदन आह्वान गरेको हो । जबकी नेपालले २०७३ सालदेखि घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको अवस्था छ । नेपालले प्रतिबन्ध लगाएकै घरेलु कामदारका लागि आवेदन दिन भन्दै मन्त्रालयले सार्वजनिक सूचना जारी गरेको हो । काठमाडौंमा रहेको कतार भिसा सेन्टर (क्यूभीसी) बाट आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ ।

सरकारले घरेलु कामदार पठाउने विषयमा छलफल चलाइरहेका बेला कतारले आवेदन आह्वान गरेको हो । सूचना निकाल्दै क्यूभीसीले महिला तथा पुरुषले घरेलु कामदारका लागि आवेदन दिन सकिने र त्यसका लागि समय बुक गर्न सकिने जनाएको छ ।

घरेलु कामदार र सोही हैसियतका कामदारका लागि भिसा आवेदन लिन सकिने क्यूभीसीले जारी गरेको सूचनामा उल्लेख छ । क्यूभीसीमा मेट्राश एप र केन्द्रको वेबसाइटबाट एपोइन्टमेन्ट बुकिङ गरेर आवेदन बुझाउन सकिने जनाएको छ ।

मन्त्रालयले २९ सेप्टेम्बर २०२२ (१२ असोज) मा उक्त सूचना जारी गरेको थियो । उक्त विषय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समक्ष पुगेपछि मन्त्री शेरबहादुर कुँवरले चासो राखेका छन् । तर, यो विषयमा श्रम मन्त्रालय तथा वैदेशिक रोजगार विभागका अधिकारीले भने अनविज्ञता प्रकट गर्दै आएका छन् ।

मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले यो विषयमा बुझ्नुपर्ने बताए । ‘जब हामीले सूचना पायौं । तत्कालै दशैं विदा भयो । के रहेछ ? कसरी आयो ? भन्ने कुरा अब बुझ्छौं,’ प्रवक्ता घिमिरेले भने ।

कतारले घरेलु कामदार लैजाने विषयमा नेपालमाथि चर्को दबाब दिँदै आएको छ । पछिल्लो समय कतारमा घरेलु कामदारको अभाव छ । जसले गर्दा कतारले नेपालबाट घरेलु कामदार लैजान यसअघिको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गर्दै आएको हो ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।