०८ कार्तिक २०७७
(Saturday 24 October, 2020)

बलिदान दिवसक्लाउडियस राजा हुन् । प्यागन धर्मावलम्बी । बहु-ईश्वरवादी । भ्यालेन्टाइन क्याथोलिक इसाई । कुरा तेस्रो शताब्दीको हो । क्लाउडियसको आदेश थियो— सिपाहीलाई बिहा गर्न नदिने । भ्यालेन्टाइनले चाहिँ सिपाहीलाई बिहे गराए । त्यसैले उनी सिपाहीप्रिय भए ।
त्यही दोषमा जेल सजाय भोगे । जेलमा हुँदा जेलरकी आठवर्षे दृष्टिविहीन छोरीलाई हेरविचार गर्थे । आफूलाई मृत्युदण्ड दिने दिन उनले जेलरकी छोरीलाई प्रेम सन्देश लेखे । सन्देशमा दुई शब्द थिए, ‘तिम्रो भ्यालेन्टाइन ।’ विश्वभर प्रेम दिवस मनाउने कुरा त्यही सन्देशबाट आयो । सिपाहीलाई बिहे गर्न दिएकाले । ‘तिम्रो भ्यालेन्टाइन’ लेखेकाले ।

नेपाली सिपाहीलाई क्लाउडियसले जस्तो बिहा गर्न कसैले रोकेन । बरु साम्यवादको भ्रूण जन्माउने प्लेटो सिपाही र राजनीतिज्ञले बिहे गर्नु हुँदैन भन्थे । यहाँ क्लाउडियस र प्लेटो मिल्थे । अहिले न क्लाउडियसजस्ता प्यागन धर्मावलम्बी छन्, न त प्लेटोजस्ता साम्यवादी । त्यसैले प्रेमकै कारण ज्यान गुमाएका नवराज विक र प्रवीना (काल्पनिक नाम) मल्लका पुस्ताले न प्यागनको सोच बोके, न प्लेटोको साम्यवादी सोच बोके । रोममा भ्यालेन्टाइन मारिए । नेपालमा नवराज विक, टीकाराम सुनार, गणेश बुढामगर,लोकेन्द्र सुनार, सञ्जीव विक र गोविन्द शाही मारिए । सन्त भ्यालेन्टाइन मार्ने प्यागन थिए । नेपालीको सैद्धान्तिक दुर्भाग्य नै भन्नुपर्छ, नवराजहरू मार्नेमा प्रकारान्तरले साम्यवादी मतदाता नै हुन पुगे । त्यसबाहेक जातीय उच्चता र नीचताको चिन्तन बोक्नेहरू थिए । तिनैले दलित, जनजाति तथा तागाधारी मिलेर प्रेम प्रदर्शन गर्न गएका ६ युवालाई जानीजानी मारे । त्यहाँ स्थानीय सरकार थियो । त्यो मौन रह्यो । त्यहाँ पुलिस थियो । नवराजहरू मार्न जानेलाई तर्साउन त्यसले हवाइफायरसम्म गरेन । गोली पनि चलाएन । यस मानेमा अकर्मण्य बन्यो । आखिर किन ?
नेपालीले भ्यालेन्टाइन दिवस मनाउन थाल्यौं । जोडी हुनेले । जोडी नहुनेहरूले १५ फेब्रुअरी मनाए ।

त्यसको नाम एकल सचेतना दिवस (सिंगल अवेरनेस डे) राखे । छोटकरीमा ‘स्याड डे’ । नेपाली युवाले स्याड डे मनाउन थालेका छैनन् । कसैले त्यो पनि सुरु गर्न सक्छ । लहर ल्याउन बजार तयार हुन्छ । भ्यालेन्टाइन डे मनाउने जस्तो । यस्ता नेपाली युवाले नवराज विक र साथीहरूको नाममा प्रेम दिवस मनाउन सकिन्न र ? किनकि प्रेममा एकल भएर आत्महत्या गर्नेहरू धेरै छन् । जोडी भएरै आत्महत्या गर्नेहरू पनि थुप्रै छन् । एकल मारिनेहरू पनि छन् । तर नवराज विकहरू सामूहिक रूपमा मारिए । यस अर्थमा नवराजसहित ६ जना १७ देखि २१ वर्षसम्मका युवाहरू प्रेम प्रदर्शन गर्न जाँदा निर्ममतापूर्वक मारिए । त्यस्तो दिनलाई नेपाली प्रेम दिवस भन्न मिल्दैन र ? एक जना भ्यालेन्टाइन मारिँदा भ्यालेन्टाइन डे मनाउने जोडीहरूले एकपटक सोच्ने हो कि ? स्याड डे मनाउनेहरूले पनि सोच्ने हो कि ? क्रान्तिकारी विवाह भनेर समाचार बनाउने तथा समाचार लेखाउनेहरूले क्रान्तिकारी प्रेमको बलिदान दिवस पो मनाउने हो कि ? प्रेमको शहादत दिवस पो भन्ने हो कि ? त्यसैको सम्झनास्वरूप चौरजहारीमा प्रणयपार्क पो बनाउने हो कि ?

राजनीतिक सिद्धान्तको उदय र अस्तय ‘मलाई लिन आऊ’ भन्ने प्रवीनाको एसएमएस पछ्याएर जानेहरू दलित मात्र थिएनन् । जनजाति थिए । तागाधारी थिए । साम्यवादी थिए । नेपाली कांग्रेस थिए । यस अर्थमा युवाहरूमा साम्यवादमा सबै समान भन्ने व्यावहारिक चिन्तन थियो । त्यसैले तिनले नवराजलाई साथ दिए । दलितलाई साथ दिए । त्यो साम्यवादी समताको व्यावहारिक प्रयोग थियो । राजनीतिक सिद्धान्तको उदय थियो । व्यक्तिगत छनोट सिद्धान्तको उदय थियो । यसनिम्ति नवराजहरू साम्यवादी समताका आदर्श हुन् । व्यक्तिगत छनोटका आदर्श हुन् । समता र व्यक्तिगत छनोटको आदर्शलाई आत्मसात् गरेरै प्रवीनाले नवराजलाई एसएमएस लेखिन् । कानुनले नाबालिग भने पनि उनी जानकार हुन् । उनलाई रुकुम पश्चिममा जातीय विभेदको खाडल छैन भन्ने जानकारी थियो । उनी पनि साम्यवाद-दीक्षित युवती हुन् । उनको दीक्षा, शारीरिक बनोट तथा नवराजसँगको प्रेम कहानी त्यसको साक्षी छ । त्यस्ती सबल प्रवीनालाई लिन जाने युवाहरूलाई क्रान्तिकारी साम्यवादी दलका जनप्रतिनिधि डम्बरबहादुर मल्लले सम्मान गरेनन् । उनी वडाध्यक्ष हुन् ।

माओवादी दीक्षा लिएका । साम्यवादी शिक्षा लिएका । नवराजहरू मार्न जानेमा उनकै मतदाता थिए । उनैका विरादरहरू थिए । एकाध बुढामगर र शाही । जे भए पनि सबै जना तत्कालीन माओवादी र, सीके लालका शब्दमा, अहिलेका दोहोरो नेकपा थिए । मारिने युवामा पनि टीकाराम सुनारबाहेक सबै साम्यवादी थिए । जानकारहरू त्यसै भन्छन् । आफ्नै दलले आफ्नै दलका समर्थक मार्नु भनेको दलीयताको अस्तय हो । त्यो पनि प्रेम गरेको अपराधमा । नेपाली कांग्रेसका युवा मात्र मारिएका भए दलीयताको छनक देखिन्थ्यो । तर त्यसो पनि भएन । यस अर्थमा साम्यवादी राजनीतिक सिद्धान्तको अन्त्य भएको दिन पनि त्यही थियो ।

साम्यवादी राजनीतिमा सर्वहाराको न्यायका लागि लड्ने प्रण हुन्छ । समर्पण हुन्छ । मेरो यही बुझाइ थियो । तर नवराजहरूभन्दा मार्नेहरू सम्पन्न छन् । यस अर्थमा नवराजहरू सर्वहारा हुन् । यहीँनेर प्रश्न आउँछ— सर्वहाराहरू नै सर्वहारालाई मार्न किन उद्यत भए ? साम्यवादीकै शब्दमा सोधौं— के तिनीहरू सुराकी हुन् त ? के तिनीहरू पुँजीवादका पिछलग्गू हुन् त ? के तिनीहरू दलाल हुन् त ? के तिनीहरू नोकरशाही प्रवृत्तिका हुन् त ? के तिनीहरू बिचौलिया हुन् त ? के तिनीहरू उपनिवेशवादी हुन् त ? के तिनीहरू सामन्त हुन् त ? के तिनीहरू सामन्तीका भरौटे हुन् त ? के तिनीहरू विस्तारवादी हुन् त ? के तिनीहरू गद्दार हुन् त ? के तिनीहरू राष्ट्र्रघाती हुन् त ? के तिनीहरू विसर्जनवादी हुन् त ? के तिनीहरू संशोधनवादी हुन् त ? के तिनीहरू फासिस्ट हुन् त ? नाजीवादी हुन् त ? यसरी हेर्दा साम्यवादीले जनतालाई जुरुकजुरुक पार्ने कुनै पनि शब्दले नवराजहरूलाई छुँदैन । आखिर नवराज त प्रेमी थिए । अरू युवाहरू जन्ती थिए । यो यथार्थले प्रश्न गर्न बाध्य गर्छ— के साम्यवादी दर्शनले व्यावहारिक जग नबनाएकै हो त ? साम्यवादीकै शब्दमा, बाघको छाला ओढेको स्याल बनेको हो त ? के साम्यवादी दर्शनको व्यावहारिक अस्त भएकै हो त ? ज्युँदा राजनीतिशास्त्रीहरूले घोषणा गर्लान्— चौरजहारी घटनामा हाम्रो सिद्धान्तको अन्त्य भएकै हो । हामीले पढे-पढाएका माक्र्स, लेनिन, माओका विचारहरूको अवसान भएकै हो । यो स्थितिमा सिद्धान्त र व्यवहार जोड्ने राजनीतिक संस्कार बनाउन नेतृत्वलाई तयार पार्ने कि त ?

पितृसत्ताको अन्त्य

महिला अबला हुन् । समाजले त्यही भन्यौं । कानुनले त्यही भन्यौं । विकासेले त्यही भन्यौं । दोस्रो दर्जाकी हुन् । महिलावादीले त्यही भन्यौं । लैंगिक समतावादीले त्यसै भन्यौं । सरकारले त्यसै भन्यौं । तर प्रवीना मातृसत्ताकी प्रतिमूर्ति हुन् भन्न सकेनौं । उल्टै नाबालिग भन्दै छौं । प्रेम गर्न जान्नेलाई । रोमान्स गर्न जान्नेलाई । केटाको घरमा गएर एउटै कोठामा रात बिताउन सक्नेलाई । प्रेमी मारिएकामा आफ्ना लागि सहानुभूतिको एक शब्दसम्म व्यक्त गर्न नसक्ने महिलावादीहरूलाई कसरी बुझ्लिन प्रवीनाले ? आफ्ना बोली लुकाउने लैंगिक समतावादीलाई कसरी चिन्लिन् उनले ? उनी निर्दोष हुन् । उनको प्रेम पवित्र हो । न उनी नवराजहरूलाई मार्न गइन्, न उनले मारिन् । नवराज बोलाउने उनको एसएमएस हो भने पनि उनी अपराधी हैनन् । प्रेमी हुन् । आफ्नो प्रेमीलाई लिन आऊ भन्नु उनको हक हो । त्यही एसएमएसले उनको कुरकुरे बैंसको प्रेम खोस्यो । ती प्रेमखोसुवा बाबाआमा, नातेदार तथा छिमेकीलाई के भन्लिन् उनले ? कसका निम्ति यो अमानवीय हत्या गर्‍यौ भनेर सोधिन् प्रवीनाले भने के जवाफ दिने अदालतले ? समाजले ? पितृसत्ता र मातृसत्ताको बहस चलाउनेहरूले ? प्राज्ञिकहरूले ?

छोरी लाने निम्ता पाएका नवराजहरू आउँदा ‘फेरि आइस् तँ डु… ?’ भन्ने आमालाई पितृसत्ता भन्ने कि मातृसत्ता भन्ने हो ? बाबुभन्दा पहिले झम्टन आउने प्रवीनाकी आमाको तागतलाई पितृसत्ता मान्ने कि मातृसत्ता मान्ने हो ? प्रेमीसहित ६ जनाको हत्यामा पनि विचलित नभई आफूलाई सन्तुलनमा राखेर बोल्न सक्ने प्रवीनालाई पितृसत्ताको नाममा कमजोर साबित गर्ने कि नगर्ने ? यी र यस्ता प्रश्नको उत्तर दिन नसक्ने महिलावादी तथा लैंगिक समतावादीले के सिकाउने समाजलाई ? कि भनिदिने हो— प्रवीना मातृसत्ताकी नमुना हुन् । प्रवीनाकी आमा त्यस्तै प्रतिमूर्ति हुन् । पितृसत्तालाई चुनौती दिन सक्ने । लैंगिक समताको व्यावहारिक प्रयोग गर्न सक्ने । ती आमा-छोरीको तागतलाई लिएर पितृसत्ताको अन्त्य भएको घोषणा गर्ने कि नगर्ने ? पितृसत्ता र मातृसत्ताका कुरा गर्नेहरूले नेपाली सन्दर्भ जोडेर पढ्ने-पढाउने संस्कार बनाउने कि नबनाउने ?

जातीय सचेतनाको विजय

मल्लहरूमा राजसी शैली छ । बाहुनलाई ठूलो जात भन्नेहरूले यो कुरा बुझेनौं । बुझ्दैनौं पनि । अरू जातजातिले स्विकारेका छन्, बाहुन केटाले कथित पानी चल्ने जातकी केटी विवाह गरे उनको जात माथि उक्लिन्छ । समाजशास्त्रीय तथा मानवशास्त्रीय शब्दमा अनुलोम विवाह हुन्छ । अर्थात्, केटीले केटाको थर स्विकार्छिन् । केटाकै थरको सन्तान जन्माउँछिन् । सामाजिक परम्परा त्यही भन्छ । तर मल्ल, शाह, तथा शाहीहरू भिन्न छन् । वणर्व्यवस्थामा क्षत्री समूहमा पर्ने यी जातका छोरीहरू बाहुनले विवाह गरे पनि बाहुनको थर लिन्नन् । बरु हमाल बन्छन् । माइतीको थर पनि लिन्नन् । मल्ल, शाह, शाहीजस्ता ठकुरी खानदानको चलन त्यही हो । यस अर्थमा ठकुरी खानदानमा जातीय सचेतना बलियो छ । साम्यवादी बन्दा पनि यो सचेतना गएको छैन । आर्थिक निश्चयवादी मार्क्स, लेनिन, माओहरूले बुझ्न नसक्ने सचेतना । त्यही सचेतनामा दबिएर साम्यवादी दर्शन मर्‍यो भनिदिए के हुन्छ ? समाजशास्त्री तथा मानवशास्त्रीहरूले मालनोवोस्की त बुझ्छौं । गर्ज, म्याक्सवेभर र दुर्खाइम त बुझ्छौं । तर जाजरकोट र रुकुम पश्चिमका मल्लहरूलाई भने बुझ्न सक्तैनौं भनिदिए के हुन्छ ? हाम्रा राजनीतिज्ञहरू सिद्धान्तहरू त बुझ्लान, समाज बुझ्दैनन् भनिदिए के हुन्छ ? समाज जोडेर सिद्धान्त बताउन सक्तैनन् भनिदिए के हुन्छ ? नवराजहरूलाई जातीय सचेतनाले खायो भनिदिए के हुन्छ ?

लोकेन्द्र शाही सजातीय भए पनि दलितपक्षीय भएकाले मारिए भनिदिए के हुन्छ ? गणेश बुढामगर जनजाति भए पनि दलितपक्षीय भएकाले मारिए भनिदिए के हुन्छ ? नवराज विक, टीकाराम सुनार, लोकेन्द्र सुनार र सञ्जीव विक दलित भएकै कारण मल्लहरूको जमातबाट मारिए भनिदिए के हुन्छ ? समाजशास्त्री तथा मानवशास्त्रीहरूसँग केही जवाफ छ कि त ? राजनीतिज्ञहरूसँग पो केही जवाफ छ कि त ? यसको अर्थ हो— मानवशास्त्री तथा समाजशास्त्रीहरूले विदेशी दार्शनिकका कुरा गर्दा नेपाली सन्दर्भ जोड्ने संस्कार पो बनाउने कि ?

प्रस्तुतिको सिकार बने-बनाइएका दलित

दलितका परम्परागत पेसाको अनुशीलनले भन्छ— उनीहरू सिद्धान्तकार हुन् । जल, जमिन र वायुको सन्तुलन मिलाउन जान्नेहरू । त्यही सिद्धान्तमा आधारित भएर उनीहरू प्राविधिक भए । समाज वैज्ञानिक भए । व्यावहारिक वैज्ञानिक । सामाजिक हिसाबले उनीहरू पृथ्वी भए । सहनशील । उपमाको दृष्टिले महाभारतका जडभरत । ज्ञानी । अरू अज्ञानीले होच्याउँदा पनि चुपचाप स्विकार्ने । जडभरतले राजाको तामदान बोके जस्तो । तर राजाले जडभरतलाई चिने । नेपाली दलितलाई चाहिँ सरकारले चिनेन । शासकले चिनेन । विकासेले चिनेन । त्यसैले तिनलाई विपन्न मान्यो । यसरी हेर्दा दलितहरू सिद्धान्तकार भएर पनि विपन्न हुन बाध्य भए । प्राज्ञिक भन्नेहरूले तिनका सिद्धान्त खोजेनौं । व्यावसायिक तथा प्राविधिक शिक्षावालाले तिनलाई प्रमाणपत्रविहीन ठान्यौं । उद्यमीले तिनलाई बेरोजगार मान्यौं । ज्ञानी तथा अध्यात्मवादी भन्नेहरूले तिनलाई अज्ञानी मान्यौं । यसरी हेर्दा दलितहरू प्रस्तुतिको सिकार बने । बनाइए ।

नवराजहरू त्यही प्रस्तुतिको सिकार भए । जन्मसिद्ध वैज्ञानिक नवराजहरू । जन्मसिद्ध प्राविधिक नवराजहरू । जन्मसिद्ध ज्ञानी नवराजहरू । यो र यस्तै यथार्थ परिचय भएको भए नवराजहरू सम्मानित हुन्थे । मारिन्नथे । दलित अधिकारकर्मीहरूले कहिले बुझ्लान् ? कहिले बुझाउलान् ? ‘अप्रिसिएटिभ इन्क्वायरी’ भनेर तालिम दिने विकासेहरूले कहिले सोच्लान् ? स्वरोजगारको फलाको बोक्ने अर्थशास्त्रीले कहिले बुझ्लान् ? यस अर्थमा नवराजहरू नकारात्मक प्रस्तुतिको सिकार भए भनिदिए के हुन्छ ? सरकार चलाउनेहरूको नकारात्मक प्रस्तुतिले नवराजहरू मारिए भनिदिए के हुन्छ ? दलित अधिकारकर्मी तथा विकासेहरूले दलितलाई चित्रण गरेको परिणतिले नवराजहरू मारिए भनिदिए के हुन्छ ? ती सबै प्रस्तुतिमा दलितलाई ‘अछूत’ हौ भन्ने-भनाउने अपराधी शास्त्रकारहरू तथा तिनका मतियारहरूको दलनमा नवराजहरू मारिए भनिदिए के हुन्छ ?

अध्यात्मवादी वा धार्मिक भन्ने-भनाउनेसँग उत्तर छ त ? यसको अर्थ हो— नवराजहरू मार्नमा दलितलाई प्रस्तुत गर्ने धार्मिक, सामाजिक, विकासवादी, सरकारवादी चिन्तकहरू पनि अपराधी हौ भनिदिए के हुन्छ ? यो अपराधबाट मुक्त हुन देशका सबै पालिकाबाट जातीय छुवाछूत अन्त्य गर्ने कि नगर्ने ? यसको प्रमाणका लागि आवश्यक परे मूलशास्त्र, राजनीतिक दर्शन, सामाजिक विश्वासबारे व्यापक संवाद गर्ने कि ? प्रकारान्तरले अपराधी भएका गैरदलितहरूले दलितहरूसँग पुस्तौं अन्याय गरे-गराएकामा सामूहिक माफी माग्ने कि नमाग्ने ? अनुहार मिल्छ । संस्कार मिल्छ । स्थानविशेषको भाषा मिल्छ । धर्म मिल्छ । यो स्थितिमा दलितको अन्तरघुलन अभियान चलाउने कि नचलाउने ?

यसका लागि शुक्लयजुर्वेदी कण्व शाखाको शतपथ ब्राह्मणको बृहदारण्यकोपनिषद्को आधार लिए हुन्छ । त्यसले भन्छ— ब्रह्म जान्ने ब्राह्मण हुन् । सूर्य, ब्रह्म ब्राह्मण हुन् । इन्द्र, सोम, वरुण, पर्जन्य, मृत्यु, यम, ईशान क्षत्री हुन् । वसु, रुद्र, आदित्य, मरुत, विश्वदेव वैश्य हुन् । पूषा, पृथ्वी शूद्र हुन् । वणर्ाश्रम धर्म त्यसरी बुझिन्छ (आचार्य श्रीराम, पृ. २५५) । भगवान् बुद्धको त्रिपिटकीय उत्तरले थप आधार दिन्छ । दलित सुजाताको हातको खीर खाएपछि आएको बुद्धत्वले अझ व्यावहारिक उत्तर दिन्छ । सन्त रविदास आफैं दलित हुन् भन्ने बुझ्नेले थप उत्तर पाउँछ । रैक्क ऋषि दलित हुन् भन्ने जान्नेले अर्को उत्तर पाउँछ । सदैव समावेशी बनेका राजा सहलेस दलित हुन् भन्ने जान्नेले थप उत्तर पाउँछ । सामाजिक न्यायका प्रतिमूर्ति हुन् दलित दीना र भद्री बन्धुहरू भन्ने जान्नेले अझ अर्को उत्तर पाउँछ । यस्तो संवादले छुवाछूतको एउटा जरो काटिन्छ । सामाजिक जरो छिनाल्न सामाजिक संवाद नै चाहिन्छ । अन्तरपुस्तेनी संवाद । त्यस्तो संवादले यजुर्वेदसम्मत निरालम्बोपनिषद्को भनाइ खोज्छ । त्यसले भनेको छ— आत्माको शरीर, रगत, मासु केही पनि हुँदैन । न वणर् हुन्छ । त्यसैले जातजाति भनेको केवल व्यवहारका निम्ति बनाइएको हो । अर्थात्, जातजाति भनेको शरीर-भेद होइनस केवल व्यवहार-भेद हो (ऐ., पृ. २२३) । तेस्रो जरा राजनीतिसँग हुन्छ । तिनको घोषणापत्र लागू गर्नैपर्छ भनिदिए पुग्छ । चौथो जरो कानुनमा हुन्छ । कानुनविद्ले संविधानको प्रावधान लागू गर्नैपर्छ भन्ने हो भने एकसाथ छुवाछूतको जरो काटिन्छ । दलित बस्तीको संस्कृतीकरण तथा अनिवार्य शिक्षा एवं रोजगारीले अन्तरघुलन सम्भव बन्छ । भारतको मेघालयका केही बस्तीमा जस्तो । प्रश्न हो— राजनीतिक नेतृत्वले यो जिम्मेवारी लिन्छ त ? तिनका शीर्षस्थ नेताहरूले यो कुरामा निणर्ायक विचार दिन्छन् त ? यसो गर्ने हो भने नवराजहरू चिरकालसम्म सम्झिइन्छन् । कतै दलितमुखी, प्रेममुखी वा राजनीतिक सिद्धान्तमुखी भएर सोच्ने कि ?

प्रतिक्रिया पोस्ट गर्नुहोस्

Your email address will not be published. Required fields are marked *