२३ पुस, काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर शुरु भएसँगै बलिउड कलाकारहरु पनि संक्रमित भइरहेका छन् । पछिल्लो समय अभिनेत्री स्वरा भास्करलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वराले ट्वीट गर्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी छन् । बुधबार उनको आरटी(पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो । स्वराले कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाइसकेकी थिइन् ।
स्वरालाई कोरोना संक्रमण भएसँगै उनको पूरै परिवार होम आइसोलेसनमा बसेको छ । केही समययता आफूसँग नजिक भएका व्यक्तिहरुले कोरोना परीक्षण गराउन पनि उनले आग्रह गरेकी छन् ।
ट्वीटमा उनले आफूलाई टाउको दुख्ने र स्वाद थाहा नपाउने सामान्य लक्षण देखिएको उल्लेख गरेकी छन् । आफू ‘डबल भ्याक्सिनेटेड’ भएकाले यो अवस्थालाई सजिलै पार गर्न सक्ने भन्दै स्वराले आफू र परिवारको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिएकी छन् ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।