दशैंमा ५७ अर्बले बढ्यो नगद सर्कुलेसन, निक्षेप १३ अर्ब घट्यो – Mero Samachar

दशैंमा ५७ अर्बले बढ्यो नगद सर्कुलेसन, निक्षेप १३ अर्ब घट्यो

दशैंमा ५७ अर्बले बढ्यो नगद सर्कुलेसन, निक्षेप १३ अर्ब घट्यो class=

काठमाडौं । दशैंमा नगद सर्कुलेसन ५७ अर्ब रुपैयाँले वृद्धि भएको छ । २६ भदौबाट नयाँ नोट सटही सुविधासँगै बढ्न लागेको नगद सर्कुलेसन २३ असोजसम्म आउँदा ५७ अर्बले वृद्धि भएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए ।


२६ भदौ अगाडि ६ खर्ब ७ अर्ब रहेको नगद सर्कुलेसन २३ असोमा ६ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको उनले बताए ।

यस्तै दशैंका लागि साना र ठूला दरको ५० अर्बको नोट सटही गरेको केन्द्रीय बैंकले दशैंका लागि साना दरको (५ देखि १०० रुपैयाँ सम्मका) १५ अर्ब र ठूला दरको (५०० र १००० दरका) ३५ अर्बको नोट सहटी भएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पोख्रेलले बताए ।

दशैंमा १३ अर्ब निक्षेप घट्यो

दशैंमा बैंकिङ प्रणालीबाट १३ अर्ब भन्दा बढी निक्षेप बाहिरिएको छ । दशैंको अगाडि १३ असोजमा ५१ खर्ब २७ अर्ब ९६ करोड रहेकोमा २३ असोजमा ५१ खर्ब १४ अर्ब ८२ करोडमा झरेको पोख्रेलले बताए ।

दशैंमा औपचारिक क्षेत्रमा कार्यरत कर्मचारी साथै निजामति कर्मचारीले डबल पारिश्रमिक पाउने र सरकारको खर्च पनि पनि वृद्धि हुँदा बजारमा पैसा आउँछ । तर, चाडपर्व मनाउन शहरका नागरिक गाउँ जाँदा नगद होल्ड हुने भएकोले पनि दशैंमा केही निक्षेप बाहिरिने गरेको छ ।

सोही अवधिमा कर्जा पनि ३ अर्बले घटेको छ । १३ असोजमा ४७ खर्ब ३५ अर्ब रहेको कर्जा २३ असोजमा घटेर ४७ खर्ब ३२ अर्बमा झरेको छ । दशैंको अवधिमा कर्जा लगानी नभएको तर भुक्तानी नियमित हुँदा लगानीमा रहेको कर्जा घटेको हुनसक्ने उनले बताए ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।