विशेषगरी दसैं र तिहारलाई आर्थिक चलायमान हुने पर्वकारूपमा लिइन्छ । यही समयमा वर्षभरीको करिब २० प्रतिशत आर्थिक चलायमान हुने अर्थविद्हरू बताउँछन् । विश्व बैंकले सार्वजनिक गरेको पछिल्ला तथ्यांकअनुसार सन् २०२१ मा औसत परिवारले वार्षिक ३ लाख ८० हजार खर्च गर्ने गरेका थिए । त्यसमध्ये २० प्रतिशत खर्च दसैं र तिहारमै गरेको तथ्यांक पाइएको थियो ।
यसअनुसार दसैंपछि तिहारलाई सबैभन्दा धेरै खर्च हुने पर्वका रूपमा लिइन्छ । यस समय विशेषगरी फूलमाला, भाइमसला (काजु, किसमिस, बदाम, नरिवल, जिन्जर लगायतका वस्तु) र झिलिमिली बत्तीको व्यापार ह्वात्तै बढ्छ । यसबाहेक, लत्ताकपडा र जुत्ताचप्पलको व्यापार समेत यो चाडमा बढ्ने गर्छ ।
४० करोडको भाइमसला
नेपालीहरूले तिहारलाई दाजुभाइ र दिदीबहिनीको पर्वकारूपमा मनाउँदै आएका छन् । यस पर्वमा दिदिबहीनीले दाजुभाइको दीर्घायूको कामना गर्दै यमराजको पूजा गर्ने गर्छन् । सोहीकारण, यो पर्वमा दिदीबहीनीले दाजुभाइलाई भाइमसला उपहार दिने गर्छन् । भाइमसलामा काजु, किसमिस, नरिवल, छोकडा, अञ्जिर, ल्वाङ, सुपारी, सुकुमेल, पेस्ता, बदाम, अलैँची, खोरपानी, ओखर, दालचिनी र मिस्री आदि मिसाइन्छ । यस्तै, विभिन्न प्रकारका चकलेट र बिस्कुट समेत यसमा हुने गर्छन् ।
२० करोडको झिलिमिली बत्ती, मूल्य बढ्ने
नेपाल विद्युतीय व्यवसायी महासंघले यो वर्षको तिहारमा करिब २० करोड रुपैयाँ हाराहारीको झिलिमिली बत्ती बिक्री हुने अपेक्षा लिएको छ । यो आँकलन सही भएमा गत वर्षको तिहारको तुलनामा ५० प्रतिशतले माग घटेको हुनेछ । गत वर्षको तिहारमा करिब ४० करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती खपत भएको महासंघका अध्यक्ष सुदर्शन पौडेलले बताए ।
साढे १३ करोडको माला
यसैगरी, नेपाल फ्लोरिकल्चर एसोसिएशनले यो तिहारमा साढे १३ करोड रुपैयाँ बराबरको माला किनबेच हुने बताएको छ । यस वर्ष ११ करोड रुपैयाँ बराबरको २० लाख सयपत्री माला खपत हुन्छ । यस्तै, १ करोड ७० लाख रुपैयाँ बराबरको र ८० लाख रुपैयाँ बराबरको गोदावरी माला खपत हुन्छ । यो वर्ष गत वर्षको तिहारको तुलनामा १० प्रतिशतले मालाको खपत बढ्ने एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।