तनहुँमा रामचन्द्रविरूद्ध गोविन्दराजको उम्मेदवारी दर्ता – Mero Samachar

तनहुँमा रामचन्द्रविरूद्ध गोविन्दराजको उम्मेदवारी दर्ता

तनहुँमा रामचन्द्रविरूद्ध गोविन्दराजको उम्मेदवारी दर्ता class=

नेपाली कांग्रेसका पूर्व-सहमहामन्त्री गोविन्दराज जोशीले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

निर्वाचन अधिकृतको कार्यालय पुगेर आइतबार जोशीले उम्मेदवारी दर्ता गरेका हुन्। जोशीका प्रस्तावक रामदेव पन्थ र समर्थकमा कृष्णप्रसाद सोती छन्।

सोही क्षेत्रबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि उम्मेदवारी दर्ता गर्ने तयारीमा छन्।

२०७४ को निर्वाचनमा पनि जोशीले उक्त क्षेत्रबाट उम्मेदवारी दिएका थिए। उनका उम्मेदवारीविरूद्ध पौडेलले निर्वाचन आयोगमा उजुरी दिएपछि आयोगले जोशीको उम्मेदवारी खारेज गरेको थियो।

भ्रष्टाचार मुद्दा अख्तियारमा विचाराधीन रहेको भन्दै त्यतिबेला निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेज गरेको थियो। अदालतबाट फैसला नभएकाले उम्मेदवारी दिन पाउने जोशी पक्षको जिकिर छ।

कांग्रेसभित्र जोशी र पौडेलबीच द्वन्द्व छ। पौडेललाई निर्वाचनमा सहयोग नगरेको र बागी उम्मेदवारी दिएको भन्दै कांग्रेसले जोशीलाई पार्टी साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो। पार्टीबाट निष्कासनमा परे पनि जोशी भने स्वतन्त्र रूपमा पौडेलविरूद्ध गतिविधि गर्दै आएका छन्।

जोशीकै समर्थनमा गत निर्वाचनमा तत्कालीन एमाले नेता कृष्णकुमार श्रेष्ठले उक्त क्षेत्रबाट चुनाव जितेका थिए भने पौडेल पराजित भएका थिए।

यसपटकको निर्वाचनमा जोशीलाई एमालेले सघाउने तयारी गरेको छ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।