झिलिमिली बत्ती आयातमा समस्या – Mero Samachar

झिलिमिली बत्ती आयातमा समस्या

झिलिमिली बत्ती आयातमा समस्या class=

काठमाडौं । विद्युतीय सामग्रीको बिक्री वितरण गर्ने व्यवसायीहरुले यस वर्षको तिहारमा सजावटका विद्युतीय बत्तीको अभाव हुनसक्ने बताएका छन् । नेपाल सरकारले यस्ता सामान आयातमा गरेको कडाइ र निर्माता मुलुकले उत्पादन र पैठारीमा गरेको विलम्बका कारण यस्तो समस्या हुनसक्ने देखिएको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ ।

राष्ट्र बैंकले विद्युतीय वस्तु आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गर्दा धेरै व्यवसायी त्यस्ता वस्तु आयात गर्न नसक्ने अवस्थामा पुगेको संघका अध्यक्ष सुदर्शन पौडेलले बताए । आयात गर्न सक्ने व्यवसायीले गरेको सामानको माग पनि कोभिड-१९ का कारण चीनले लकडाउन गर्दा समयमै डेलिभरी नभएको उनको भनाइ छ । ‘गत वर्षभन्दा यो वर्ष यी वस्तुको आयात निकै घटेको छ,’ अध्यक्ष पौडेलले भने, ‘नगद मार्जिनका कारण व्यवसायी पनि आयात गर्न नसक्ने अवस्थामा छन् । आयात गर्नेको सामान पनि समयमै आउन सकेन ।’

चीनका केही भू-भागमा अझै पनि लकडाउन रहेका कारण एलसी खुलेका सामान पनि व्यवसायीले समयमा पाउन नसकेको उनले बताए । दशैंअघिलाई आइसक्नु पर्ने कतिपय विद्युतीय सामान अझै आइनसकेको महासंघले जनाएको छ । ‘तातोपानी र रसुवागढी नाका बन्द हुँदा कतिपय सामानहरु रि-रुट भएका छन् । केही अझै चीनका शहरमै छन्,’ पौडेलले भने, ‘मूल्य बढ्न सक्ने अवस्था त छैन, तर माग जति नपुग्ने चिन्ता भने छ ।’

कोभिड-१९ पछि निरन्तर आरोलो लागेको विद्युतीय सामग्रीको कारोबार अझै निरन्तर रहेको पनि महासंघले जनाएको छ । तिहारमा सजावटका लागि धेरै बिक्री हुने झलरी मालाबत्ती र उत्सव लाइटहरु गत वर्षको मात्रामा आयात नभएको महासंघका महासचिव कोमल पोख्रेल बताउँछन् । नयाँ घर बनाएर तिहारमा सर्ने, तिहारमा घर, कार्यालय र सडकमा झिलिमिली बनाउने वस्तु पर्याप्त मात्रामा नभएको उनको दावी छ । गत वर्ष तिहारमा यस्ता सामग्रीको व्यापार ३५ देखि ४० करोड रुपैयाँ हाराहारी रहेकामा यसपाली यस्तो हुने नदेखिएको पोख्रेल बताउँछन् ।

Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।