एक सातादेखि परेको वर्षाले जुम्लामा बाढीपहिराबाट हालसम्म १० जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार मङ्गलबार विपद् व्यवस्थापन समितिको बैठकमा विपद्ले पारेको धनजनको क्षतिबारे जानकारी दिँदै कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा गणेश शाहीको घर भत्कँदा आठ जनाको मृत्यु भएको छ।
गुठीचौर र हिमा गाउँपालिका एक/एक जनाको मृत्यु भएको छ। हिमा गाउँपालिकाकै छ जना अझै बेपत्ता छन्। सदरमुकाम खलङ्गा एक सातादेखि विद्युत्, सञ्चारविहीन बनेको छ। जिल्लाभर ८५ भन्दा बढी घर पूर्णरूपमा क्षति भएको छ। दुई सयभन्दा बढी घर आंशिकरूपमा क्षति भएको छ।
अहिले सुरक्षा निकाय परिचालन गरी क्षतिको यकिन तथ्याङ्क सङ्कलन गर्ने कामदेखि राहत र उद्धारमा सबै निकाय लागिपरेको प्रजिअ केसरीले बताए। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार अविरल वर्षाले कर्णाली राजमार्ग सञ्चालन भएको छैन। अझै दुई सातासम्म राजमार्ग सञ्चालन गर्न समय लाग्ने भएको छ।
सडक डिभिजन कार्यालयले सडकमा डोजरसमेत लगाएको छ। स्थानीय तहले पनि डोजर लगाएर पहिलो प्रथामिकता भनेको राजमार्ग सञ्चालन गर्न सबै लागिपर्न जरुरी भएको प्रहरी नायब उपरीक्षक चन्दले बताए।
तीन सय घरपरिवारलाई राहत दिने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। घरवारविहीन परिवारलाई उचित राहत र बासको व्यवस्थापन गर्न स्थानीय तहले विशेष भूमिका खेल्नुपर्ने जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले जानकारी दिए।