२९ पुस, काठमाडौं । अभिनेता विपिन कार्कीले चलचित्रमा अभिनय गर्न चाहने हो भने थिएटरमा नअल्मलिन सुझाव दिएका छन् । चलचित्र र थिएटर फरक माध्यम भएकाले पनि चलचित्रमा अभिनय गर्न चाहनेले चलचित्रकैै माध्यम समात्नुपर्ने विपिनको भनाइ छ ।
‘हामीलाई पनि शुरुमा यी दुई विधामा यतिविधि भिन्नता होला जस्तो लागेको थिएन । तर, व्यापक भिन्नता रहेछ । अहिले ‘छड्के’को अभिनय हेर्दा मैले कति धेरै लाउड गरेछु भन्ने महसुस हुन्छ,’ विपिनले भने । अस्कर इन्टरनेसनल कलेज, कलेज अफ फिल्म स्टडिजका १६ औं ब्याचका विद्यार्थीसँग अन्तरक्रिया गर्ने क्रममा विपिनले यस्तो अनुभव सुनाएका हुन् ।
विद्यार्थीले विपिनसँग आफूले अभिनय गर्ने भूमिकामा कसरी डुब्नु हुन्छ भनेर सोधेका थिए । जसको जवाफ दिंदै विपिनले भने, ‘सबैका चरित्रमा भिज्ने आफ्नै तरिका हुन्छ । म स्क्रिप्ट कण्ठ पारेर यसको शुरुआत गर्छु । म स्क्रिप्ट कण्ठ पार्छु र यसो हुँदा मलाई चरित्रको सबै आयामको बारेमा थाहा हुन्छ । यसपछि म चरित्रलाई कसरी फरक गर्न सकिन्छ भनेर काम गर्छु ।’
चलचित्रमा करिअर बनाउनका लागि जिन्दगी नै यही हो भनेर लाग्नुपर्ने विपिनको बुझाइ छ । विपिनले शुरुआतमा सानो लक्ष्य बनाउन विद्यार्थीलाई सुझाव दिए । आफूले लिएको लक्ष्य पूरा भएपछि मात्र अर्को लक्ष्यतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।
अस्कर कलेजले आफ्ना विद्यार्थीलाई फिल्म क्षेत्रका विभिन्न व्यक्तिसँग अन्तरक्रिया गराइरहेको छ । कलेजका एकेडेमिक को(अर्डिनेटर मनोजबाबु पन्तले नयाँ विद्यार्थीलाई भविष्यमा उनीहरुले काम गर्ने उद्योगको विषयमा पर्याप्त जानकारी होस् भन्ने उद्देश्यले आफ्नो विधामा स्थापित फिल्मकर्मीलाई निम्त्याएको बताए ।
Mero Samachar प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@merosamachar.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।